काठमाडौं, भदौ १० गते ।
रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि राहत तथा उद्धारका नाममा आफूखुसी आर्थिक सहयोग संकलन नगर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ।
प्राधिकरणका अनुसार बुधबार बिहान ८:४० बजे रसुवाको भोटेकोशी नदीमा ठूलो बाढी आएपछि भोटेकोशी र त्रिशूली नदी किनारमा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। प्रभावित क्षेत्रमा घाइते तथा अलपत्र परेकाहरूको खोज तथा उद्धार कार्य जारी रहेको र राहत वितरणसमेत भइरहेको प्राधिकरणले जनाएको छ।
तर, विपद्को यही संवेदनशील समयमा केही व्यक्ति तथा समूहले बाढी प्रभावितको राहतका लागि भन्दै आर्थिक सहयोग संकलन गर्न थालेको र कतिपयले नगद सहयोगका लागि QR Code समेत सामाजिक सञ्जालमा सार्वजनिक गरिरहेको गुनासो प्राप्त भएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणले बाढी प्रभावितको नाममा जथाभावी आर्थिक सहयोग संकलन नगर्न र नगराउन सबैमा अनुरोध गरेको छ।
त्यस्तै, नेपाल सरकारले आह्वान गरेबाहेक कुनै पनि व्यक्ति वा संस्थालाई आर्थिक सहयोग नदिन तथा सहयोग संकलनसमेत नगर्न प्राधिकरणले आग्रह गरेको छ।
विपद्को नाममा अनधिकृत रूपमा सहयोग संकलन गरी रकम दुरुपयोग हुन सक्ने भएकाले नागरिकलाई सचेत रहनसमेत प्राधिकरणले अनुरोध गरेको छ।
कसैले अनधिकृत रूपमा आर्थिक सहयोग संकलन गरिरहेको जानकारी पाएमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको फोन नम्बर ०१–४२१११९७ मा जानकारी गराउन प्राधिकरणले आग्रह गरेको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।