बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ स्थित पथलैया चेकपोइन्टबाट प्रहरीले करिब ८० हजार रुपैयाँ मूल्य बराबरको अवैध पटका बरामद गरेको छ। प्रहरीले पटका ओसारपसारमा संलग्न रहेको आरोपमा दुई जनालाई नियन्त्रणमा लिएको छ।
२०८३ कात्तिक १० गते बिहान करिब ८ः३० बजे प्रहरी चौकी पथलैयाबाट प्रहरी वरिष्ठ नायब निरीक्षक युवराज दाहालको कमाण्डमा खटिएको टोलीले सिम्रौनगढबाट काठमाडौं जाँदै गरेको माछा लोड गरिएको पिकअप जाँच गर्ने क्रममा पटका फेला पारेको हो।
बा.प्र.०१–०३४ च ७३१५ नम्बरको उक्त पिकअपलाई पथलैया चेकपोइन्टमा जाँच गर्दा माछाको सामानसँगै लुकाइछिपाइ ल्याउँदै गरेको विभिन्न सात प्रकारका ६४ डिब्बा पटका बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बरामद पटकामध्ये पेटा स्काइ प्लस ३० डिब्बा, रेड क्राकलिङ सर्ट १० डिब्बा, फ्लावर गार्डेन एक डिब्बा, सिङ्गल रकेट १२ डिब्बा, फ्लावर म्याजिक ६ डिब्बा, फ्लाइङ स्टार चार डिब्बा र फ्लावर सो एक डिब्बा रहेका छन्। बरामद पटाकाको कुल अनुमानित मूल्य ८० हजार रुपैयाँ रहेको छ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले रौतहटको राजपुर कुडिया नगरपालिका–५ का २८ वर्षीय विनोद महतो र बाराको पचरौता नगरपालिका–७ का २६ वर्षीय राधाकृष्ण सहनीलाई नियन्त्रणमा लिएको जनाएको छ।
बरामद पटका र पक्राउ परेका दुवै जनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।