धादिङ, भदौ १३ गते ।
रसुवाको भोटेकोशीमा आएको बाढीले बगाएर ल्याएको नगद राख्ने सेफ धादिङको त्रिशूली नदी किनारमा फेला पारी तोडफोड गरेर भित्र रहेको रकम निकालेको आरोपमा प्रहरीले २९ जनालाई नियन्त्रणमा लिएको छ। उनीहरूको साथबाट प्रहरीले ९२ लाख ६८ हजार ५०५ रुपैयाँ नगद बरामद गरेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार २०८३ साल भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले बगाएर ल्याएको एउटा सेफ धादिङको गल्छी गाउँपालिका–४, बेल्खुखोला, त्रिशूली नदीको किनारमा फेला परेको थियो।
सेफ फेला परेपछि स्थानीय मानिसहरूले उक्त सेफ तोडफोड गरी त्यसमा रहेको यकिन नभएको नगद रकम आफूखुसी निकालेर चोरी गरेको भन्ने सूचना प्रहरीलाई भदौ १२ गते प्राप्त भएको थियो। सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धादिङबाट प्रहरी टोली तत्काल घटनास्थलमा परिचालन गरिएको थियो।
प्रहरीले घटनास्थलमा पुगेर प्रारम्भिक छानबिन तथा अनुसन्धान अघि बढाउने क्रममा घटनामा संलग्न हुनसक्ने व्यक्तिहरूको पहिचान गरी २९ जनालाई नियन्त्रणमा लिएको जनाएको छ। नियन्त्रणमा लिइएका व्यक्तिहरूको खानतलासी गर्दा उनीहरूको साथबाट विभिन्न परिमाणमा रहेको नगद रकम बरामद गरिएको हो।
प्रहरीका अनुसार बरामद रकमको कुल रकम ९२ लाख ६८ हजार ५०५ रुपैयाँ रहेको छ।
को–को छन् नियन्त्रणमा?
प्रहरीका अनुसार नियन्त्रणमा लिइएकामध्ये अधिकांश गल्छी गाउँपालिका–४, मासटार तथा आसपासका क्षेत्रका स्थानीय रहेका छन्।
नियन्त्रणमा लिइएकामा २७ वर्षीय पवन पौडेल, ४१ वर्षीय वीरबहादुर राना मगर, ३५ वर्षीय विनोद गिरी, ३३ वर्षीय नवराज भेटुवाल, ४० वर्षीय पूर्णलाल श्रेष्ठ, ३१ वर्षीय विष्णुमणि अधिकारी, ३६ वर्षीय कृष्ण मगर, ४९ वर्षीय शिवबहादुर राना मगर, ४६ वर्षीय युवराज अधिकारी, ४७ वर्षीय सुशान्त श्रेष्ठ, ४६ वर्षीय सुचिमबहादुर राना मगर, २४ वर्षीय सविन श्रेष्ठ, ४३ वर्षीय प्रेमबहादुर राना मगर, १९ वर्षीय अनिल भेटुवाल, ४९ वर्षीय रामशरण सुवेदी, ३८ वर्षीय मिनबहादुर राना मगर, ३२ वर्षीय देवेन्द्र राना मगर, ३१ वर्षीय दिपक तामाङ, ३६ वर्षीय राजकुमार भेटुवाल, २९ वर्षीय दिनेश अधिकारी, ३० वर्षीय दिनेश पुलामी, ३० वर्षीय टेकबहादुर राना मगर, ३२ वर्षीय सन्तोष श्रेष्ठ र ३६ वर्षीय सानुभाई श्रेष्ठ रहेका छन्।
त्यस्तै सिद्धलेक गाउँपालिका–७, आदमटारका ४९ वर्षीय सानु खतिवडा, चितवनको राप्ती नगरपालिका–६ घर भई हाल धादिङको गजुरी गाउँपालिका–८, आदमघाट बस्ने २९ वर्षीय विचारी आले मगर, सोही क्षेत्रका ३२ वर्षीय नारायण श्रेष्ठ, २० वर्षीय अग्नि आले मगर तथा पर्साको बहुदरमाई नगरपालिका–९ घर भई हाल धादिङको गजुरी गाउँपालिका–६, आदमघाट बस्ने २८ वर्षीय सकुर अन्सारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
रकमको स्रोतबारे अनुसन्धान
प्रहरीले सेफमा वास्तविक रूपमा कति रकम थियो र बाढीले बगाएर ल्याएको उक्त रकमको स्रोत के हो भन्ने विषयमा समेत अनुसन्धान अघि बढाएको जनाएको छ। बरामद भएको रकमको स्रोत पुष्टि गर्ने तथा घटनामा संलग्न हुनसक्ने अन्य सम्भावित व्यक्तिहरूको पहिचान गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
हाल नियन्त्रणमा लिइएका २९ जना र बरामद भएको ९२ लाख ६८ हजार ५०५ रुपैयाँलाई आधार बनाएर घटनाको थप अनुसन्धान भइरहेको छ। प्रहरीले अनुसन्धानपछि घटनाको वास्तविक विवरण, रकमको स्रोत तथा संलग्न अन्य व्यक्तिबारे थप तथ्य खुल्ने जनाएको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।