काठमाडौं, साउन १७।
सामाजिक सञ्जालमार्फत भ्रामक सूचना प्रवाह गरी जातीय तथा धार्मिक सद्भावमा असर पुर्याउने सामग्री प्रसारण गरेको आरोपमा नेपाल प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
नेपाल प्रहरीको साइबर ब्युरोका अनुसार "NEPALI KHABAR TV" नामक युट्युब च्यानलमार्फत भ्रामक भिडियो सामग्री तयार गरी अफवाह फैलाउने, सामाजिक सञ्जालमा फलोअर बढाउने तथा आर्थिक लाभ लिने उद्देश्यले कानूनविपरीत सामग्री प्रसारण गरेको आरोपमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–९ स्थायी घर भई हाल रुपन्देहीको बुटवल उपमहानगरपालिका–१३ बस्दै आएका ३९ वर्षीय जनक भुसाल पक्राउ परेका हुन्।
साइबर ब्युरोले सामाजिक सञ्जालको निगरानी तथा प्राविधिक विश्लेषणका क्रममा उक्त गतिविधि फेला पारेपछि इलाका प्रहरी कार्यालय बुटवलको सहयोगमा साउन १६ गते बुटवलबाट उनलाई पक्राउ गरेको जनाएको छ।
प्रहरीका अनुसार भुसालमाथि जातीय तथा धार्मिक हिंसा भड्काउन सक्ने, घृणा तथा द्वेष फैलाउने र विभिन्न समुदायबीचको सामाजिक सद्भावमा खलल पुर्याउने प्रकृतिका सामग्री प्रकाशन तथा प्रसारण गरेको आरोप छ।
उनीमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा दर्ता गरी काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको नेपाल प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिएका छन्।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।