विराटनगर । मोरङको लेटाङ नगरपालिका–७ वाराङ्गी कोलाघारीबाट भरुवा बन्दुक तथा बन्दुक बनाउन प्रयोग हुने सामग्रीसहित एक जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय मोरङले २०८३ असोज २२ गते जारी गरेको प्रेस विज्ञप्तिअनुसार स्थानीय पूर्ण लावती लिम्बुले आफ्नै घरमा भरुवा बन्दुक बनाई बिक्री–वितरण गर्ने गरेको भन्ने गोप्य सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय लेटाङबाट प्रहरी टोली खटिएको थियो।
प्रहरी टोलीले कानुनबमोजिम उनको घरमा खानतलासी गर्दा घरमा लुकाइछिपाई राखिएको अवस्थामा तयारी अवस्थाको एक थान भरुवा बन्दुक र एक थान दबासवाला बन्दुक फेला पारेको जनाएको छ।
त्यस्तै, प्रहरीले हातहतियार निर्माण गर्ने आरन तथा भरुवा बन्दुकमा प्रयोग हुने विभिन्न पार्टपुर्जासमेत बरामद गरेको जनाएको छ।
बरामद सामग्रीसहित लेटाङ नगरपालिका–७ वाराङ्गी कोलाघारी निवासी ४५ वर्षीय पूर्ण लावती लिम्बुलाई प्रहरीले पक्राउ गरी इलाका प्रहरी कार्यालय लेटाङमा ल्याएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिएका छन्।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।