सुनसरी, भदौ २९ गते ।
कैलाश माझी : सुनसरीमा प्रहरीले लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ, नगद रकम र मोटरसाइकलसहित एक जनालाई नियन्त्रणमा लिएको छ।
प्रहरी चौकी घुस्कीहाटबाट खटिएको प्रहरी टोलीले हरिनगर गाउँपालिका–६ स्थित भित्री सडकखण्डमा भारतबाट नेपालतर्फ आउँदै गरेको मोटरसाइकललाई शंका लागेर चेकजाँच गर्ने क्रममा लागूऔषध फेला पारेको हो।
प्रहरीका अनुसार को १–०२–०५८ प ८३७२ नम्बरको मोटरसाइकलका चालक हरिनगर गाउँपालिका–५ बस्ने ५५ वर्षीय नारायण मेहतालाई नियन्त्रणमा लिइएको हो।
मिति २०८३ भदौ २८ गते साँझ करिब ७:३० बजे गरिएको खानतलासीका क्रममा मोटरसाइकलको डिकीभित्र कालो प्लास्टिकमा लुकाइछिपाइ राखिएको अवस्थामा ब्राउन सुगर जस्तो देखिने पदार्थ ६ ग्राम ३३ मिलिग्राम बरामद भएको प्रहरीले जनाएको छ।
त्यसैगरी, मेहताको साथबाट नेपाली नगद रु. २५ हजार ४६५ र भारतीय नगद रु. ५५० समेत बरामद गरिएको छ।
प्रहरीले बरामद लागूऔषध, नगद रकम र मोटरसाइकलसहित मेहतालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रहरीका अनुसार बरामद पदार्थको प्रकृति तथा घटनासम्बन्धी थप अनुसन्धान भइरहेको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।