जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाले विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका ६ जना प्रतिवादीलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार २०८३ असोज १४ गते कार्यालय तथा मातहतका प्रहरी युनिटबाट खटिएको टोलीले खोजतलास तथा आवश्यक समन्वय गरी विभिन्न मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको हो।
पक्राउ परेका उनीहरूलाई धनुषा जिल्ला अदालतको फैसला कार्यान्वयनअन्तर्गत आवश्यक कारबाहीका लागि धनुषा जिल्ला अदालतमा पठाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेकामध्ये लागूऔषध मुद्दाका दुई जना प्रतिवादीलाई जनही २ महिना कैद र २ हजार रुपैयाँ जरिवाना तोकिएको थियो।
त्यस्तै, सवारी ज्यान मुद्दाका एक प्रतिवादीलाई ९ महिना कैद र २ हजार रुपैयाँ जरिवाना सजाय तोकिएको थियो।
चोरी मुद्दाका तीन जना प्रतिवादीमध्ये एक जनालाई ५ महिना ८ दिन कैद र ६ हजार रुपैयाँ जरिवाना, अर्का एक जनालाई २ महिना कैद र ७ हजार रुपैयाँ जरिवाना तथा तेस्रो व्यक्तिलाई ४ महिना २० दिन कैद र ५ हजार रुपैयाँ जरिवाना सजाय तोकिएको प्रहरीले जनाएको छ।
अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि वारदातपश्चात फरार रहेका उनीहरूलाई खोजतलास गरी पक्राउ गरिएको र फैसला कार्यान्वयनका लागि अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेका सबैमाथि अदालतको फैसला कार्यान्वयनसम्बन्धी आवश्यक प्रक्रिया अघि बढाइएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले फरार प्रतिवादी पक्राउ गरी आवश्यक कारबाहीका लागि अदालतमा पठाइएको जानकारी दिएका छन्।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।