धरानबाट ट्रामोल ८०० क्याप्सुल र डिकोलिक ८०० ट्याब्लेटसहित तीन जना नियन्त्रणमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

इनरुवा । सुनसरीको धरान उपमहानगरपालिका–१७ स्थित एन्फा एकेडेमी जाने बाटोबाट लागूऔषध क्याप्सुल र ट्याब्लेटसहित तीन जना नियन्त्रणमा परेका छन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीले २०८३ असोज २१ गते जारी गरेको प्रेस विज्ञप्तिअनुसार असोज २० गते राति करिब १०ः१० बजे उक्त क्षेत्रमा लागूऔषध कारोबार भइरहेको भन्ने सूचना प्राप्त भएपछि संयुक्त प्रहरी टोली परिचालन गरिएको थियो।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको PIT, इलाका प्रहरी कार्यालय धरान र वडा प्रहरी कार्यालय धरानबाट खटिएको संयुक्त प्रहरी टोलीले शंकाका आधारमा चेकजाँच तथा खानतलासी गर्दा उनीहरूको साथबाट ट्रामोल ८०० क्याप्सुल र डिकोलिक ८०० ट्याब्लेट फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–४ का २७ वर्षीय अर्जुन श्रेष्ठ, वडा नं. ७ का ३६ वर्षीय दिपक मगर र वडा नं. १५ का ३४ वर्षीय बाबुराम बयलकोटी रहेका छन्।

प्रहरीले बरामद लागूऔषधसहित तीनै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धरानमा ल्याएको जनाएको छ। उनीहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिएका छन्।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।