धर्मेश्वर अस्पतालमा दुई सुत्केरीको मृत्यु, छानबिन गर्न प्रशासनको पत्राचार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

राजविराज, असोज ५ गते ।

कैलाश माझी : सप्तरीको कञ्चनरूप नगरपालिका–१२ स्थित धर्मेश्वर हस्पिटल प्रा.लि.मा छोटो अवधिमा दुई सुत्केरी महिलाको मृत्यु भएको घटनाबारे जिल्ला प्रशासन कार्यालय सप्तरीले छानबिन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, मधेश प्रदेशलाई पत्राचार गरेको छ।

जिल्ला प्रशासन कार्यालय सप्तरीले २०८३ असोज ५ गते मन्त्रालयलाई पत्र पठाउँदै सुत्केरी महिलाको मृत्युको कारण, अस्पतालको कमी–कमजोरीका कारण मृत्यु भएको हो/होइन तथा अस्पतालसँग अप्रेसन र जटिल प्रकृतिका केस उपचार गर्न आवश्यक अनुमति, पूर्वाधार र विशेषज्ञता भए/नभएको विषयमा आवश्यक छानबिन गर्न अनुरोध गरेको हो।

प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाद्वारा हस्ताक्षरित पत्रअनुसार अग्निसाइर कृष्णासवरण गाउँपालिका–५ निवासी २८ वर्षीया निर्मला चौधरीलाई असोज १ गते प्रसूति व्यथा लागेपछि धर्मेश्वर अस्पताल लगिएको थियो। अस्पतालमा अप्रेसनमार्फत प्रसूति गराएपछि उनको अवस्था गम्भीर बनेको र अर्को अस्पतालमा रेफर गरिएकोमा असोज ४ गते उपचारका क्रममा मृत्यु भएको प्रशासनको पत्रमा उल्लेख छ।

यसअघि सप्तकोशी नगरपालिका–११ निवासी २८ वर्षीया पुष्पा खड्गाको पनि भदौ १६ गते धर्मेश्वर अस्पतालमा अप्रेसनमार्फत प्रसूति गराएपछि अवस्था गम्भीर बनेको थियो। उनलाई अर्को अस्पतालमा रेफर गरिएकोमा सोही दिन उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालयको पत्रमा उल्लेख गरिएको छ।

छोटो अवधिमा एउटै अस्पतालमा दुई सुत्केरी महिलाको मृत्यु भएपछि अस्पतालको प्रसूति तथा शल्यक्रिया सेवाको क्षमता, आवश्यक पूर्वाधार, विशेषज्ञ जनशक्ति र आकस्मिक अवस्थामा बिरामी रेफर गर्ने प्रक्रियामाथि प्रश्न उठेको छ।

जिल्ला प्रशासन कार्यालयले स्वास्थ्य मन्त्रालयलाई घटनाको आवश्यक छानबिन गरी मृत्युको वास्तविक कारण तथा अस्पतालको सम्भावित कमी–कमजोरीबारे तथ्य सार्वजनिक गर्न आग्रह गरेको छ।

अब मन्त्रालय तथा सम्बन्धित स्वास्थ्य निकायबाट हुने छानबिनले दुवै घटनामा उपचारका क्रममा के भएको थियो, अस्पतालसँग जटिल प्रसूति तथा शल्यक्रियाका लागि आवश्यक अनुमति र पूर्वाधार थिए कि थिएनन् तथा मृत्युको वास्तविक कारण के थियो भन्ने विषय स्पष्ट गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।