गाईको बाच्छो मारेको आरोपमा गैँडाकोटका सिताराम तामाङ पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नवलपुर, असार २५
कैलाश माझी : नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) प्रहरीले गाईको बाच्छो वध गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार पक्राउ पर्नेमा गैँडाकोट नगरपालिका–७ निवासी ५६ वर्षीय सिताराम तामाङ रहेका छन्।

प्रहरीका अनुसार असार २३ गते बिहान करिब १० बजे गैँडाकोट नगरपालिका–७ स्थित पीसपार्क क्षेत्रमा गाई/गोरु जस्तो देखिने चौपाया काटी करङ र टाउकोको भाग फालिएको भन्ने सूचनाका आधारमा प्रहरी टोली घटनास्थल पुगेको थियो।

घटनाको अनुसन्धानका क्रममा गाईको बाच्छो काट्ने कार्यमा संलग्न रहेको आरोपमा सिताराम तामाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका तामाङविरुद्ध पशुपन्छी (गौवध) सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ। नवलपुर जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक अनिल पण्डितले जानकारी दिएका छन्।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।