विराटनगर, असोज ६ गते । लागूऔषध गाँजा बेचबिखनमा संलग्न रहेको आरोपमा प्रहरीले धरानबाट एक जनालाई पक्राउ गरेको छ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार, असोज ५ गते दिउँसो धरान उपमहानगरपालिका–१४ स्थित विजयपुर डाँडामा गाँजा बेचबिखन भइरहेको भन्ने सूचनाका आधारमा कोशी प्रदेश प्रहरी कार्यालयको PIT र इलाका प्रहरी कार्यालय धरानबाट परिचालित प्रहरी टोलीले एक जनालाई पक्राउ गरेको हो।
प्रहरी टोलीले भोजपुर घर भई विजयपुर डाँडामा कोठा भाडामा लिएर बस्दै आएका २३ वर्षीय रितेश राईको कोठामा खानतलासी गर्दा ६३० ग्राम लागूऔषध गाँजा फेला पारेको जनाएको छ।
खानतलासीका क्रममा प्रहरीले एक थान डिजिटल तराजु र गाँजा बेचबिखनबाट प्राप्त भएको भनिएको ८ लाख ८७ हजार ७ सय रुपैयाँ नगद समेत बरामद गरेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
लागूऔषध गाँजा, डिजिटल तराजु तथा नगदसहित पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाही भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।