गोली हानी हत्या गरेको घटनाका फरार प्रतिवादी पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

सर्लाही । सर्लाहीमा करिब १८ वर्षअघि गोली हानी हत्या गरिएको घटनाका फरार प्रतिवादी पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार गोली हानी हत्या गरिएको घटनामा संलग्न रहेको आरोपमा लामो समयदेखि फरार रहेका इन्दल पासवान पक्राउ परेका हुन्।

प्रहरीका अनुसार २०६५ साल फागुन १२ गते दिउँसो करिब ३ बजे सर्लाहीको साविक नेत्रगञ्ज गाविस–२ बस्ने वीरेन पासवान मेला हेर्न जान्छु भन्दै घरबाट निस्किएका थिए। सोही दिन राति करिब १० बजे नेत्रगञ्ज गाविस–२ स्थित खाली जग्गामा उनको छातीमा गोली लागेको अवस्थामा मृत शरीर फेला परेको थियो।

घटनाको अनुसन्धानका क्रममा जिल्ला धनुषाको कपटोल स्थायी ठेगाना भई सर्लाहीको साविक नेत्रगञ्ज गाविस–२ तथा हाल लालबन्दी नगरपालिका–२ बस्ने इन्दल पासवानसमेत घटनामा संलग्न रहेको खुलेको प्रहरीले जनाएको छ। घटनापछि उनीहरू फरार रहँदै आएका थिए।

लामो समयदेखि फरार रहेका पासवानलाई इलाका प्रहरी कार्यालय लालबन्दी र नवलपुरसँगको समन्वयमा लालबन्दी नगरपालिका–२ स्थितबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

पक्राउ परेका पासवानलाई इलाका प्रहरी कार्यालय हरिपुर, सर्लाहीबाट अनुसन्धान पूरा गरी २०८३ साल असोज १३ गते सर्लाही जिल्ला अदालतमा उपस्थित गराइएको थियो। अदालतको आदेशअनुसार उनलाई पुर्पक्षका लागि सर्लाही कारागार चलान गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पासवान यसअघि पनि हातहतियार तथा खरखजाना मुद्दामा महोत्तरी जिल्ला अदालतबाट दोषी ठहर भई ६ वर्ष कैद र ६० हजार रुपैयाँ जरिवाना भुक्तान गरिसकेका व्यक्ति हुन्। उनीविरुद्ध महोत्तरी र धनुषा जिल्लामा चोरी तथा डाँका मुद्दासमेत चलेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीले पुराना तथा फरार प्रतिवादीको खोजीलाई निरन्तरता दिँदै आएको जनाएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।