इनरुवा, साउन २६ गते।
कैलाश माझी : सुनसरीको इटहरी उपमहानगरपालिकामा प्रहरीले १०.७० ग्राम ब्राउन सुगरजस्तो देखिने लागूऔषधसहित एक महिलालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका–२ बस्ने २९ वर्षीया भावना गुरुङ रहेकी छन्।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार गुरुङले लागूऔषध बिक्री–वितरण गरिरहेको भन्ने विशेष सूचना प्राप्त भएपछि कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको PIT र इलाका प्रहरी कार्यालय इटहरीबाट संयुक्त रूपमा प्रहरी टोली परिचालन गरिएको थियो।
प्रहरी टोलीले साउन २६ गते बिहान करिब ४ः३० बजे इटहरी उपमहानगरपालिका–१७ लविपुर क्षेत्रमा शंकास्पद अवस्थामा गुरुङलाई फेला पारी नियन्त्रणमा लिएको थियो।
त्यसपछि कानुनबमोजिम शरीर खानतलासी तथा चेकजाँच गर्दा उनको साथबाट १० ग्राम ७०० मिलिग्राम (१०.७० ग्राम) ब्राउन सुगरजस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
लागूऔषधसहित पक्राउ परेकी गुरुङलाई इलाका प्रहरी कार्यालय पकलीमा ल्याई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी चन्द्रबहादुर खड्काले जारी गरेको प्रेस विज्ञप्तिमा घटनाबारे जानकारी दिइएको हो।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।