इटहरीको आँपगाछीबाट बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

इटहरी, भदौ ९ गते ।

सुनसरीको इटहरी उपमहानगरपालिका–१ आँपगाछीबाट प्रहरीले बैंकिङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक जनालाई पक्राउ गरेको छ।

नेपाल प्रहरी प्रदेश कार्यालय धरान र इलाका प्रहरी कार्यालय इटहरीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले सुनसरीको बराहक्षेत्र नगरपालिका–५ घर भई हाल इटहरी उपमहानगरपालिका–५ बस्दै आएका ३८ वर्षीय मुक्तिनाथ दाहाललाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार सम्मानित उच्च अदालत इलामले २०७९ साल असार ३० गते गरेको फैसलाअनुसार दाहालले बैंकिङ कसुर मुद्दामा रु. ८ लाख ४० हजार बिगो र रु. ४२ हजार जरिवाना भुक्तान गर्न बाँकी रहेको थियो।

फैसला कार्यान्वयनका क्रममा फरार रहेका दाहालको खोजतलास गर्ने क्रममा प्रहरीले उनलाई २०८३ भदौ ९ गते बिहान करिब ९ बजे इटहरी–१ आँपगाछीबाट पक्राउ गरेको जनाएको छ।

पक्राउ परेका दाहाललाई इलाका प्रहरी कार्यालय इटहरीमा ल्याई आवश्यक प्रक्रिया पूरा गरेपछि झापा जिल्ला अदालतमा पठाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

अदालतको फैसला कार्यान्वयन तथा फरार प्रतिवादी पक्राउ अभियानलाई निरन्तरता दिइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।