जंगली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सप्तरी, २०८२ जेठ १७
सप्तरी जिल्लाको कञ्चनरुप नगरपालिका–१२ धरमपुर बरगाछीमा जंगली हात्तीको आक्रमणबाट एक व्यक्तिको ज्यान गएको छ।

स्थानीय ६६ वर्षीय केदार विष्ट आफ्नै मकै बारीमा मकै कुरिरहेका अवस्थामा आज बिहान करिब २ बजे तिर जंगली हात्तीले आक्रमण गर्दा घटनास्थलमै उनको मृत्यु भएको हो। बिष्टको घरदेखि करिब १०० मिटर टाढा रहेको मकैबारीमा उनी हात्तीको आक्रमणको सिकार बनेका हुन्।

घटनाबारे इलाका प्रहरी कार्यालय ठेलियामा बिहान ६:४० बजे जानकारी प्राप्त भएपछि प्रहरी नायब निरीक्षक (प्र.ना.नि.) को कमाण्डमा प्रहरी टोली घटनास्थलमा पुगेर सुरक्षाका लागि आवश्यक कदम चालिएको थियो।

थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट प्रहरी निरीक्षक (प्र.नि.) को कमाण्डमा अनुसन्धान टोली सहित फरेन्सिक विज्ञ (SOCO) समेत खटिएको छ।

सप्तरीमा पछिल्ला वर्षहरूमा जंगली हात्तीको उपस्थितिले स्थानीयहरूमा त्रास फैलँदै गएको छ। वनक्षेत्र नजिकका गाउँमा यस किसिमका घटनाहरू पुनः नदोहरियोस् भनी स्थानीय प्रशासन, वन कार्यालय तथा सुरक्षाकर्मीबीच समन्वय गरी आवश्यक सुरक्षा तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनुपर्ने आवश्यकता देखिएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।