काठमाडौंमा खैरो हेरोइन र ठूलो परिमाणमा ट्रामाडोलसहित पाँच जना पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं — काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट प्रहरीले खैरो हेरोइन, डाइजोपाम, फेनारगन, बुप्रेनोर्फिन र ट्रामाडोलसहित पाँच जनालाई पक्राउ गरेको छ।

लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरले २०८३ असोज १० गते जारी गरेको प्रेस विज्ञप्ति नं. ५४५ अनुसार, ब्यूरोको शाखा कार्यालय थानकोटबाट प्राप्त विशेष सूचनाका आधारमा असोज ९ गते शाखा कार्यालय थानकोट र प्रहरी वृत्त थानकोटबाट संयुक्त रूपमा खटिएको टोलीले उपत्यकाका विभिन्न स्थानमा कारबाही गरेको हो।

प्रहरीका अनुसार पक्राउ पर्नेमा काठमाडौं चन्द्रागिरि नगरपालिका–६ का ३४ वर्षीय विक्रम घले, मकवानपुर थाहा नगरपालिका–१२ का २४ वर्षीय विजय तामाङ, काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका–६ का ३४ वर्षीय गणेश लामा, मकवानपुर राक्सिराङ गाउँपालिका–२ का ३३ वर्षीय ललितबहादुर स्याङ्तान र सिन्धुली हरिहरपुरगढी गाउँपालिका–११ का ३२ वर्षीय रत्न तामाङ रहेका छन्।

के–के बरामद भयो?

ब्यूरोका अनुसार उनीहरूबाट ३.१० ग्राम खैरो हेरोइन, डाइजोपाम ७८२ एम्पुल, फेनारगन ७८२ एम्पुल, बुप्रेनोर्फिन ७८२ एम्पुल र ट्रामाडोल १८ हजार ३०० क्याप्सुल बरामद गरिएको छ।

त्यस्तै प्रहरीले ५ लाख ६० हजार ४०० रुपैयाँ नगद, बा.प्र.०३–००२ प ७०४८ नम्बरको मोटरसाइकल र ६ थान मोबाइल फोनसमेत बरामद गरेको जनाएको छ।

पक्राउ परेका पाँचै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त थानकोटमा बुझाइएको लागूऔषध नियन्त्रण ब्यूरोले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको ब्यूरोका सह–प्रवक्ता प्रहरी नायव उपरीक्षक जीवन निरौलाले जानकारी दिएका छन्।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।