काठमाडौं । ‘खल्ती’को आधिकारिक कर्मचारी भएको भन्दै विभिन्न व्यक्तिलाई फोन गरी स्क्रिन सेयर तथा OTP कोड लिन लगाएर बैंक तथा वालेट खातामा अनधिकृत पहुँच पु¥याई रकम ठगी गरेको आरोपमा चार जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार विभिन्न मोबाइल नम्बरबाट फोन गरी आफू खल्तीको आधिकारिक कर्मचारी भएको बताउने, सेवाग्राहीलाई स्क्रिन सेयर गर्न लगाउने तथा OTP कोड लिनेजस्ता गतिविधि गरी विभिन्न व्यक्तिका बैंक तथा वालेट खाताबाट अनुमति बिना रकम ट्रान्सफर गर्ने कार्यमा उनीहरू संलग्न रहेको आरोप छ।
प्रहरीले उनीहरूलाई २०८३ असोज २१ गते दिउँसो करिब ४ बजे ललितपुर महानगरपालिका–२८ हात्तीबनस्थित मेरो सिटी अपार्टमेन्टको १३औँ तल्लामा रहेको TE/1305 नम्बरको कोठाबाट नियन्त्रणमा लिएको जनाएको छ।
पक्राउ पर्नेमा रौतहट ईशनाथ नगरपालिका–३ स्थायी घर भई हाल ललितपुरको हात्तीबन बस्ने २३ वर्षीय सुभम कुमार झा, बारा सिम्रौनगढ नगरपालिका–१० स्थायी घर भई हाल हात्तीबन बस्ने २० वर्षीय अनिकेत यादव, रौतहट ईशनाथ नगरपालिका–३ स्थायी घर भई हाल ललितपुर धापाखेल बस्ने २२ वर्षीय पवन कुमार चौधरी तथा रौतहट गढीमाई नगरपालिका–१ स्थायी घर भई हाल धापाखेल बस्ने २१ वर्षीय रिसी गंगा रहेका छन्।
प्रहरीका अनुसार उनीहरूलाई २०८३ असोज २२ गते अनलाइन ठगी तथा लागूऔषधसम्बन्धी मुद्दामा भक्तपुर जिल्ला अदालतमा पेश गरिएको थियो। अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनामा प्रयोग भएका मोबाइल नम्बर, बैंक तथा डिजिटल वालेट खातासहित अनलाइन कारोबारको प्राविधिक विवरणबारे समेत अनुसन्धान अघि बढाएको जनाएको छ।
घटनाबारे थप अनुसन्धान जारी रहेकाले पक्राउ परेका व्यक्तिहरूमाथि लगाइएको आरोप अनुसन्धान तथा कानुनी प्रक्रियाबाट पुष्टि हुन बाँकी रहेको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।