कैलाश माझी, सप्तरी : सप्तरी जिल्लाको कञ्चनरूप क्षेत्रमा लागूऔषध नियन्त्रणतर्फ प्रहरीको सक्रियता पुनः देखिएको छ। प्रहरीले विशेष सूचनाको आधारमा बरामद गरेको ठूलो परिमाणको गाँजा आइतबार विधिसम्मत प्रक्रिया पूरा गरी नष्ट गरेको जनाएको छ।
इलाका प्रहरी कार्यालय कञ्चनपुरका अनुसार गत २०८२ साल फागुन ३० गते साँझ करिब ५:३० बजे तिरहुत गाउँपालिका–२, बडहरा स्थित कञ्चनपुर–राजविराज हुलाकी सडक खण्डमा सघन चेकजाँचका क्रममा उक्त गाँजा फेला परेको थियो। प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको सात सदस्यीय टोलीले शंकास्पद रूपमा कञ्चनपुरबाट डिमनतर्फ जाँदै गरेको प्र।२–०१–००१ ह ००२२ नम्बरको अटो रोकी जाँच गर्दा ठूलो परिमाणमा लागूऔषध बरामद भएको हो।
प्रहरीले अटोभित्र राखिएका तीन वटा सेतो र एउटा पहेँलो बोरा खोलेर हेर्दा कालो प्लास्टिकमा सुरक्षित रूपमा प्याक गरिएको छ वटा पोका फेला पारेको थियो। ती पोकाहरूको तौल गर्दा प्लास्टिकसहित करिब १११.८ किलोग्राम र बोरा तथा प्लास्टिक हटाउँदा वास्तविक तौल करिब १०५.५ किलोग्राम गाँजा रहेको पुष्टि भएको प्रहरीले जनाएको छ।
बरामद गरिएको उक्त गाँजा आइतबार स्थानीय सुन्दरी खोलामा सार्वजनिक रूपमा जलाएर नष्ट गरिएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लेख बहादुर बिष्टले जानकारी दिए। उनका अनुसार लागूऔषध नियन्त्रण अभियानअन्तर्गत यस्तो कारबाही निरन्तर जारी रहनेछ।
घटनासँग सम्बन्धित रहेको आशंकामा अटो चालक कञ्चनरूप नगरपालिका–७, सितापुर निवासी करिब ४३ वर्षीय ओमप्रकाश उर्फ जामुन महतो र अटोमा सवार सोही स्थानकी २८ वर्षीया कविता कुमारी माझीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले पछिल्लो समय सप्तरी क्षेत्रलाई लागूऔषध ओसारपसारको ट्रान्जिट बन्दै जान नदिन निगरानी कडा बनाएको बताउँदै यस्ता अवैध गतिविधिमा संलग्न जो कोहीलाई पनि कानुनी दायरामा ल्याइने स्पष्ट पारेको छ। साथै, समुदायलाई समेत सचेत रहन र शंकास्पद गतिविधिबारे प्रहरीलाई जानकारी गराउन आग्रह गरिएको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।