विराटनगर, मोरङ |
कैलाश माझी : लागू पदार्थ दुर्व्यसन नियन्त्रण तथा सडक सुरक्षालाई प्रभावकारी बनाउन मोरङ प्रहरीले सञ्चालन गरेको विशेष अभियान अन्तर्गत लागू पदार्थ सेवन गरेर सवारी साधन चलाउने १३ जना चालकसहित १ जना पैदलयात्री गरी १४ जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङद्वारा जारी प्रेस विज्ञप्तिअनुसार जेठ २५ गते दिउँसो करिब ४ बजे विराटनगर महानगरपालिका–१६ स्थित नेपाल–भारत सीमाक्षेत्रमा विशेष निगरानी तथा चेकजाँच अभियान सञ्चालन गरिएको थियो। "मेगा क्याम्पेन अगेन्स्ट नार्कोटिक्स (Mega Campaign Against Narcotics – Mega CAN)" अन्तर्गत सञ्चालन गरिएको उक्त अभियानमा लागू पदार्थ सेवनकर्ता तथा प्रयोगकर्ताको पहिचान गरी नियन्त्रणमा लिने उद्देश्य राखिएको थियो।
जिल्ला प्रहरी कार्यालय मोरङ, जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ तथा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको संयुक्त प्रहरी टोलीले सीमाक्षेत्र हुँदै आवतजावत गर्ने सवारी साधन तथा शंकास्पद व्यक्तिहरूमाथि विशेष निगरानी गर्दै लागू पदार्थ सेवन परीक्षण गरेको थियो। परीक्षणका क्रममा १२ जना सिटी सफारी चालक, १ जना अटो टेम्पो चालक तथा १ जना पैदलयात्रीको रिपोर्ट पोजेटिभ देखिएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका–१३ का विवेक महतो, वडा नं. ६ का राहुल सहनी, वडा नं. ११ का सुनिल प्रसाद नेपाली, वडा नं. १७ का प्रदीप खड्का, वडा नं. ६ का सुमनसा सुनार, वडा नं. १६ का श्रवण सहनी, वडा नं. ६ का अनिराज नास्फोर, वडा नं. १४ का विरुखत्वे, वडा नं. ४ का बासुदेव उराव, वडा नं. ५ का कालुराम पासवान, वडा नं. ५ का संजय पासवान, बुढीगंगा गाउँपालिका–२ का सन्तोष साह तथा बेलबारी नगरपालिका–११ का सुकुम लिम्बु रहेका छन्। यसैगरी सुनसरीको इटहरी उपमहानगरपालिका–५ निवासी ईश्वर डौगी पनि लागू पदार्थ सेवन गरेको अवस्थामा फेला परेका पैदलयात्रीका रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीले नियन्त्रणमा लिइएका सबै व्यक्तिलाई इलाका प्रहरी कार्यालय रानीमा राखी थप अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ। उनीहरूले कुन प्रकारको लागू पदार्थ सेवन गरेका थिए, सेवनको स्रोत कहाँ थियो र यसमा अन्य व्यक्तिको संलग्नता छ कि छैन भन्ने विषयमा समेत अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ।
प्रहरीका अनुसार लागू पदार्थ सेवन गरी सवारी साधन चलाउँदा चालकको निर्णय क्षमता कमजोर हुने, प्रतिक्रिया दिने समय ढिलो हुने तथा दुर्घटनाको जोखिम अत्यधिक बढ्ने भएकाले यस्ता गतिविधिविरुद्ध कडा निगरानी र कारबाही अभियानलाई निरन्तरता दिइनेछ।
मोरङ प्रहरीले लागू पदार्थ नियन्त्रणलाई प्राथमिकतामा राख्दै सीमाक्षेत्र तथा संवेदनशील स्थानहरूमा नियमित चेकजाँच, निगरानी तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ। पछिल्लो समय लागू पदार्थको प्रयोग र ओसारपसारका घटनामा वृद्धि देखिएको भन्दै प्रहरीले यस्ता अभियानलाई अझ सशक्त बनाउने संकेत दिएको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।