लागूऔषधसहित १० जना पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

विराटनगर, असोज १२ गते । झापा, मोरङ र सुनसरीका विभिन्न स्थानबाट प्रहरीले लागूऔषध तथा प्रतिबन्धित औषधिसहित १० जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार असोज ११ गते गरिएको चेकजाँचका क्रममा झापाको लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीको टोलीले अर्जुनधारा नगरपालिका–८ का प्रमोद साह र राज बिष्टलाई १० ग्राम २०० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो।

त्यसैगरी, इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोलीले मेचीनगर नगरपालिका–६ का सुरेश उराउलाई ४ ग्राम २०० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको प्रहरीले जनाएको छ।

सुनसरीतर्फ इलाका प्रहरी कार्यालय धरानको टोलीले धरान–१९ का पुजन श्रेष्ठलाई १ ग्राम १३० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ। अस्थायी प्रहरी चौकी इनरुवाको टोलीले इटहरी–१ का सुरज माझी, तोरण माझी र मनिष माझीलाई ५ ग्राम ४९० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको प्रहरीले जनाएको छ।

यस्तै, मोरङको इलाका प्रहरी कार्यालय रानीको टोलीले विराटनगर–१६ बाट भारतको दरभंगाका राकेश कुमार साहलाई ३० ग्राम ३० मिलिग्राम गाँजासहित पक्राउ गरेको छ।

चेकजाँचकै क्रममा धरान–१३ का राजु विश्वकर्मालाई ६ ग्राम ५१० मिलिग्राम ब्राउन सुगर तथा ६० ट्याब्लेट नाइट्राभेटसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

यसैगरी, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समूह र प्रहरी चौकी डाँगीहाटको संयुक्त टोलीले बेलबारी–४ का योगेश लिम्बूलाई ३७७ ट्याब्लेट प्रतिबन्धित औषधिसहित पक्राउ गरेको छ।

प्रहरीका अनुसार पक्राउ परेका सबैमाथि सम्बन्धित कार्यालयबाट आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।