महोत्तरीमा बेपत्ता युवकको शव सेफ्टी ट्याङ्कीभित्र टुक्रा–टुक्रा अवस्थामा फेला, ४ जना नियन्त्रणमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

महोत्तरी, भदौ २६ ।

महोत्तरीको बलवा नगरपालिका–७ बनौटामा एक युवकको शव सेफ्टी ट्याङ्कीभित्र टुक्रा–टुक्रा अवस्थामा फेला परेको छ। शव भंगाहा नगरपालिका–६ का २२ वर्षीय विवेक कुमार सरदारको रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार विवेक भदौ १४ गते साँझ जलेश्वर नगरपालिका–९ पिगौनास्थित दिदीको घरबाट मोटरसाइकलमा आफ्नो घरतर्फ जाने क्रममा बेपत्ता भएका थिए। त्यसपछि उनका बुबा अशोक कुमार वातरले भदौ १६ गते जिल्ला प्रहरी कार्यालय महोत्तरीमा हुलियासहित खोजतलासका लागि निवेदन दिएका थिए।

निवेदनपछि प्रहरीले खोजतलास गर्ने क्रममा बलवा नगरपालिका–७ बनौटा निवासी अशोक कुमार ठाकुरको घर पछाडि रहेको सेफ्टी ट्याङ्कीभित्र टुक्रा–टुक्रा अवस्थामा शव फेला पारेको हो।

घटनाको अनुसन्धानका लागि प्रहरीले बलवा नगरपालिका–७ का करिब ५८ वर्षीय अशोक कुमार ठाकुर, उनकी श्रीमती करिब ५५ वर्षीया रामकली देवी, बुहारी करिब २२ वर्षीया सोनु कुमारी ठाकुर तथा महोत्तरी गाउँपालिका–५ का करिब ३७ वर्षीय सियाराम शर्मालाई नियन्त्रणमा लिएको छ।

घटनाको वास्तविक कारण तथा युवकको मृत्युको अवस्थाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ। साथै घटनामा संलग्नता भए–नभएको विषय अनुसन्धानपछि खुल्ने प्रहरीले जनाएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।