नदीकिनारका जोखिम बस्ती सुरक्षित स्थानमा सार्ने तयारी, स्थायी समाधान गरिने : प्रधानमन्त्री बालेन्द्र साह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं — प्रधानमन्त्री बालेन्द्र साहले काठमाडौं उपत्यकाका नदी तथा खोला किनारमा जोखिमपूर्ण अवस्थामा बसोबास गरिरहेका नागरिकलाई सुरक्षित स्थानमा व्यवस्थापन गर्ने तयारी भइरहेको बताएका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री साहले हरेक वर्ष बाढीका कारण नदीकिनारमा रहेका हजारौँ नागरिकले ज्यान जोगाउन भाग्नुपर्ने अवस्था दोहोरिँदै आएको उल्लेख गरेका छन्। उनले यस्तो समस्यालाई अब थप वर्षसम्म थाती नराखी स्थायी समाधान गर्नुपर्ने बताएका छन्।

प्रधानमन्त्री साहले वर्षौँदेखि बाढी, डुबान र जोखिम झेलिरहेका नागरिकलाई त्यहीँ बसिरहन बाध्य बनाउनु उचित नभएको भन्दै सुरक्षित स्थानमा स्थानान्तरण गर्नु नै उनीहरूको अधिकार भएको स्पष्ट पारे। उनले अधिकार र भोटको राजनीति गर्दै जनताको जीवनसँग खेलबाड गर्न नहुने पनि बताएका छन्।

उनका अनुसार थापाथली, गैरीगाउँ, मनोहरा लगायत नदीकिनारका बस्तीहरूका कारण ढल निकास प्रणालीमा समेत अवरोध पुगेको छ। जसका कारण काठमाडौं उपत्यकाका नदी तथा खोलाहरू फोहोर र दुर्गन्धित बन्दै गएको उल्लेख गर्दै उनले व्यवस्थित स्थानान्तरणले ढल निकास प्रणालीलाई सहज बनाउने विश्वास व्यक्त गरे।

प्रधानमन्त्री साहले जोखिम क्षेत्रमा रहेका बासिन्दालाई बल प्रयोग नगरी, मानवीय संवेदनशीलता अपनाउँदै सुरक्षित रूपमा स्थानान्तरण गरिने बताएका छन्। साथै यस विषयमा सरकारले आन्तरिक तयारी गरिरहेको जानकारी दिएका छन्।

उनले राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्र, आफ्नो पूर्वप्रतिबद्धता तथा सरकारका ‘१०० वटा गर्नै पर्ने काम’ अन्तर्गत सुकुम्बासी व्यवस्थापन र सरकारी जग्गा अतिक्रमण नियन्त्रणका बुँदाहरूलाई सरकारले नबिर्सिएको बताए।

प्रधानमन्त्री साहले काठमाडौंका नदीकिनारको समस्या र देशभरका वास्तविक सुकुम्बासीको समस्या फरक रहेको उल्लेख गर्दै वास्तविक पीडितको पहिचान गरी प्रक्रिया पुर्‍याएर जग्गा वितरण गरिने बताएका छन्।

वर्षौँदेखि थाँती रहेको सुकुम्बासी तथा अतिक्रमण समस्याको स्थायी समाधान वर्तमान सरकारले गर्ने दाबी गर्दै प्रधानमन्त्री साहले नागरिकलाई ढुक्क हुन आग्रह गरेका छन्।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।