नेपाली सेनाको अपिल: भ्रामक सूचना नफैलाउन आग्रह, कानुनी कारबाहीको चेतावनी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, — नेपाली सेनाले पछिल्लो समय विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा सेना र सेनाको नेतृत्वलाई लक्षित गर्दै प्रसारण तथा प्रकाशन भइरहेका तथ्यहीन सूचना र अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

जङ्गी अड्डास्थित जनसम्पर्क तथा सूचना निर्देशनालयले बिहीबार प्रेस नोट जारी गर्दै यस्ता कपोकल्पित तथा आधारहीन सामग्रीहरूले आम नागरिकमा भ्रम सिर्जना गर्ने भएकाले त्यस्ता भ्रामक समाचार तथा सामग्री प्रसारण नगर्न र नगराउन सबैमा अनुरोध गरेको हो।

नेपाली सेनाले सेना तथा सम्बन्धित निकायहरूले यस्ता उच्छृङ्खल र अराजक गतिविधिहरूको नियमित निगरानी गरिरहेको उल्लेख गर्दै गलत सूचना फैलाउने व्यक्तिहरू प्रचलित कानुनको दायरामा आउने चेतावनी समेत दिएको छ।

प्रेस नोटमा आम जनमानसलाई आधारहीन, द्वेषपूर्ण समाचार तथा टिकाटिप्पणीहरूमा विश्वास नगर्न आग्रह गरिएको छ। साथै सत्य र आधिकारिक जानकारीका लागि नेपाली सेनाबाट प्रकाशित प्रेस विज्ञप्ति, आधिकारिक सामाजिक सञ्जाल, वेबसाइट तथा जनसम्पर्क तथा सूचना निर्देशनालयसँग समन्वय गर्न अनुरोध गरिएको छ।

नेपाली सेनाले पछिल्ला दिनमा सामाजिक सञ्जालमार्फत फैलाइने अपुष्ट र भ्रामक सूचनाले समाजमा भ्रम, अविश्वास तथा अस्थिरता बढाउने भएकाले जिम्मेवार र सत्यतथ्यमा आधारित सूचना प्रवाह गर्न सबै पक्षलाई सचेत गराएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।