फत्तेपुर बजारमा सिक्री चोरी प्रयास गर्ने युवक पक्राउ, अनुसन्धानका लागि दुई दिनको म्याद थप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कैलाश माझी । सप्तरी
सप्तरीको सप्तकोशी नगरपालिका–१ फत्तेपुर नयाँ बजारमा एक महिलाको घाँटीबाट सुनको सिक्री चोरी गर्ने प्रयास गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।

प्रहरीका अनुसार २०८३ जेठ २२ गते अपराह्न करिब ४:२० बजे उदयपुरको चौदण्डीगढी नगरपालिका–३ निवासी प्रेमबहादुर तामाङकी २२ वर्षीया छोरी अञ्जना तामाङको घाँटीमा लगाएको सुनको सिक्री चोरी गर्ने क्रममा बारा जिल्लाको बारागढी गाउँपालिका–३ निवासी ३२ वर्षीय नागेश्वर पासवान पक्राउ परेका हुन्।

घटना भइरहेको देखेपछि फत्तेपुर नयाँ बजारका स्थानीय व्यवसायी तथा सर्वसाधारणले तत्काल प्रहरीलाई खबर गरेका थिए। सूचना प्राप्त हुनासाथ प्रहरी सहायक निरीक्षक दीपेन्द्र प्रसाद यादवको कमाण्डमा खटिएको प्रहरी टोली घटनास्थल पुगेर नागेश्वर पासवानलाई नियन्त्रणमा लिएको थियो।

प्रहरीले पक्राउ परेका पासवानमाथि चोरी सम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाएको छ। यसैक्रममा अनुसन्धानका लागि अदालतबाट दुई दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कंचनपुर सप्तरीले जनाएको छ।

घटनाबारे थप तथ्य तथा सम्भावित संलग्नता सम्बन्धमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।