कैलाश माझी, सप्तकोशी : सप्तरीको सप्तकोशी नगरपालिका–१ फत्तेपुरमा आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको आयोजनामा दोस्रो वार्षिक केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ। फत्तेपुर शाखाको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा विभिन्न केन्द्रका केन्द्र प्रमुख, उपप्रमुख, सदस्य दिदीबहिनीहरू, स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी, समाजसेवी, पत्रकार तथा संस्थाका कर्मचारीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष रोहिणी प्रसाद पोखरेलले दीप प्रज्वलन गरी कार्यक्रमको औपचारिक उद्घाटन गरेका थिए। उद्घाटनपछि बोल्दै उनले ग्रामीण क्षेत्रमा वित्तीय पहुँच विस्तार गर्न लघुवित्त संस्थाहरूको महत्वपूर्ण भूमिका रहेको बताए। उनले यस्ता संस्थाले विशेषगरी महिलाहरूलाई आर्थिक रूपमा सशक्त बनाउने, बचत गर्ने बानी विकास गराउने तथा साना व्यवसाय सञ्चालन गर्न प्रोत्साहन दिने काम गरेको उल्लेख गरे।
कार्यक्रममा फत्तेपुर शाखाका शाखा प्रबन्धक विनोद खड्काले शाखाको वार्षिक प्रगति विवरण प्रस्तुत गरेका थिए। उनका अनुसार फत्तेपुर शाखामा हाल ६१० जना सदस्य, ६६ वटा केन्द्र तथा २८७ जना ऋणी सदस्य सक्रिय रहेका छन्। शाखाबाट हालसम्म ५ करोड २६ लाख ७६ हजार ४२५ रुपैयाँ कर्जा प्रवाह गरिएको छ भने १ करोड ६ लाख १९ हजार ६९२ रुपैयाँ बचत संकलन गरिएको जानकारी दिइयो।
उनले सदस्यहरूको विश्वास, सहयोग र सक्रिय सहभागिताका कारण शाखाले छोटो समयमै उल्लेखनीय उपलब्धि हासिल गर्न सफल भएको बताए। संस्थाले केवल कर्जा वितरण मात्र नभई सदस्यहरूलाई आर्थिक अनुशासन, बचतको महत्व तथा साना उद्यम सञ्चालनसम्बन्धी ज्ञान दिन पनि नियमित रूपमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै आएको उनले बताए।
कार्यक्रममा संस्थाले प्रदान गर्दै आएको सामाजिक सुरक्षासम्बन्धी सुविधाबारे पनि जानकारी गराइएको थियो। हालसम्म फत्तेपुर शाखामार्फत ८९ जना ग्राहकलाई सुत्केरी सुविधा प्रदान गरिएको छ भने केही परिवारले बीमा क्षतिपूर्ति प्राप्त गरेका छन्। त्यसैगरी १ जना ग्राहकलाई काजक्रिया सहयोग उपलब्ध गराइएको शाखाले जनाएको छ। उपचार खर्च सहयोग लगायत अन्य सामाजिक सुरक्षा सुविधाहरू पनि संस्थाले प्रदान गर्दै आएको जानकारी कार्यक्रममा दिइएको थियो।
कार्यक्रमको क्रममा वित्तीय साक्षरता सम्बन्धी प्रशिक्षण, बचत तथा ऋण व्यवस्थापनका विषयमा प्रस्तुतीकरण, सदस्यहरूसँग अन्तरक्रिया तथा गुनासो सुनुवाइ कार्यक्रम समेत सञ्चालन गरिएको थियो। सहभागी सदस्यहरूले लघुवित्त कार्यक्रमले ग्रामीण महिलाहरूलाई आर्थिक रूपमा सक्षम बनाउन र आत्मनिर्भर बन्न महत्वपूर्ण सहयोग पुगेको बताएका थिए।
त्यसैगरी आर्थिक वर्ष २०८१/८२ मा उत्कृष्ट कार्य गर्ने विभिन्न केन्द्रहरूलाई मूल्यांकनका आधारमा सम्मान तथा प्रमाणपत्र वितरण गरिएको थियो। उत्कृष्ट केन्द्रका केन्द्र प्रमुख तथा उपप्रमुखहरूलाई खादा, टीका तथा प्रमाणपत्र प्रदान गर्दै सम्मान गरिएको थियो। कार्यक्रममा उत्कृष्ट केन्द्र सञ्चालनका अनुभवहरू समेत सहभागीहरूबीच साझा गरिएको थियो।
कार्यक्रममा स्थानीय पत्रकार कैलाश माझी, समाजसेवी, प्रहरी प्रतिनिधि, विभिन्न केन्द्रका प्रतिनिधि तथा संस्थाका कर्मचारीहरूको सहभागिता रहेको थियो। सहभागीहरूले यस्ता कार्यक्रमहरूले सदस्यहरूबीच आपसी सम्बन्ध अझ मजबुत बनाउनुका साथै वित्तीय चेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए।
उक्त कार्यक्रम इन्द्रेणी होटल एण्ड लजको सभाहलमा सम्पन्न भएको थियो। कार्यक्रमका अन्त्यमा आयोजकले केन्द्र प्रमुख तथा सदस्यहरूसँग संस्थाको सम्बन्ध अझ मजबुत बनाउँदै वित्तीय साक्षरता र आर्थिक सशक्तिकरणको अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।