प्रधानमन्त्री राहत कोषका नाममा नक्कली QR बाट ठगीको जोखिम, राष्ट्र बैंकको चेतावनी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, भदौ १५ गते ।

कैलाश माझी : प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने क्रममा नक्कली QR कोड तथा बैंक खाता प्रयोग गरी ठगी हुनसक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सचेत गराएको छ।

नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले सूचना जारी गर्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाममा नक्कली QR तथा बैंक खाता विवरण प्रयोग गरी अनधिकृत रूपमा रकम संकलन तथा ठगी भइरहेको घटनाहरू सार्वजनिक भएको जनाएको छ।

राष्ट्र बैंकले विपद्को यस घडीमा सहयोग गर्न चाहने नागरिकले रकम पठाउनुअघि खाता तथा प्राप्तकर्ताको विवरण अनिवार्य रूपमा यकिन गर्न आग्रह गरेको छ।

मोबाइल बैंकिङ, वालेट, कनेक्ट आईपीएस वा अन्य कुनै माध्यमबाट रकम पठाउँदा खाताको नाम “Prime Minister Disaster Relief Fund” हो कि होइन भनेर यकिन गर्न राष्ट्र बैंकले अनुरोध गरेको छ।

त्यस्तै, रकम पठाउनुअघि आफूले योगदान गर्न चाहेको रकम सही रूपमा प्रविष्ट भए–नभएको पुनः जाँच गर्न समेत आग्रह गरिएको छ।

राष्ट्र बैंकले सहयोगका लागि आवश्यक बैंक खाता विवरण नेपाल राष्ट्र बैंक, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वा अर्थ मन्त्रालयको आधिकारिक वेबसाइटमा प्रकाशित विवरणबाट मात्र लिन अनुरोध गरेको छ।

सामाजिक सञ्जाल, इमेल तथा विभिन्न Messaging App मार्फत फैलिएका अनधिकृत QR Code स्क्यान नगर्न समेत राष्ट्र बैंकले चेतावनी दिएको छ।

रकम पठाउन सहयोग गर्ने बहानामा कसैले OTP, PIN, Password वा अन्य संवेदनशील व्यक्तिगत विवरण मागेमा कुनै हालतमा उपलब्ध नगराउन राष्ट्र बैंकले आग्रह गरेको छ। साथै रकम पठाउँदा आधिकारिक मोबाइल बैंकिङ तथा भुक्तानीसम्बन्धी application प्रयोग गर्नसमेत अनुरोध गरिएको छ।

यदि कसैले आफू ठगीमा परेको शंका लागेमा तत्काल सम्बन्धित बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक संस्था, नेपाल प्रहरीको साइबर ब्युरो वा नेपाल राष्ट्र बैंकको वित्तीय ग्राहक संरक्षण इकाईमा जानकारी गराउन राष्ट्र बैंकले आग्रह गरेको छ।

राष्ट्र बैंकको यो सूचना विपद्का बेला राहतका नाममा हुने अनधिकृत रकम संकलन तथा डिजिटल ठगी नियन्त्रण गर्न जारी गरिएको हो।

राहत सहयोग गर्दा सहयोग सही ठाउँमा पुग्छ भन्ने सुनिश्चित गरौँ—नक्कली QR र खाताबाट हुने ठगीबाट पनि सचेत रहौँ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।