भैरहवा, भदौ १५ गते ।
लागू औषध नियन्त्रण ब्यूरोले नवलपरासी पश्चिममा १५८ ग्राम खैरो हेरोइनसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
भारतबाट खैरो हेरोइन खरिद गरी लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा बिक्री गर्ने गिरोहमाथि निगरानी गर्ने क्रममा लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
ब्यूरोका अनुसार २०८३ भदौ १५ गते जिल्ला नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को रामग्राम नगरपालिका–१ स्थित क्षेत्रमा भारतीय नम्बरको मोटरसाइकलमा आउँदै गरेका दुई जनालाई प्रहरीले शंकास्पद रूपमा रोक्न खोजेको थियो।
तर प्रहरीलाई देखेपछि उनीहरूले मोटरसाइकल नरोकाई भाग्न खोजेपछि प्रहरीले चेतावनीस्वरूप ४ राउण्ड हवाई फायर गरेको थियो। त्यसपछि उनीहरूलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा १५८ ग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा भारत उत्तर प्रदेश महाराजगञ्ज, सेखंलीका ३३ वर्षीय गिरिजेस श्रीवास्तव र भारत निचलोनका २७ वर्षीय दिपक श्रीवास्तव रहेका छन्।
प्रहरीले उनीहरूको साथबाट १५८ ग्राम खैरो हेरोइन, दुई थान मोबाइल फोन र भारतीय नम्बर UP 56 AH 6189 को एउटा मोटरसाइकल बरामद गरेको छ।
पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा बुझाइएको लागू औषध नियन्त्रण ब्यूरोले जनाएको छ।
ब्यूरोका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले लागू औषधको कारोबार तथा ओसारपसार नियन्त्रणका लागि निगरानी र कारबाहीलाई निरन्तरता दिइरहेको बताएका छन्।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।