पशुपतिनाथ मन्दिरमा सार्वजनिक हित र नैतिकता विपरीतको कार्य गरेको आरोपमा दुई जना पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरमा सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा तथा नैतिकता विरुद्धको कार्य गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंले २०८३ असोज २१ गते जारी गरेको प्रेस विज्ञप्तिअनुसार काठमाडौं महानगरपालिका–८ स्थित पशुपतिनाथ मन्दिर अगाडि खिचिएको एक भिडियो ‘प्रियंका सनी’ नामक TikTok अकाउन्टबाट सार्वजनिक भएपछि घटनाबारे अनुसन्धान अघि बढाइएको हो।

उक्त भिडियो सार्वजनिक भएपछि पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्र विकास कोष ऐन, २०४४ को दफा ६.१ विपरीतको कार्य भएको भन्दै दिएको उजुरीका आधारमा प्रहरी वृत्त गौशालाबाट अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

अनुसन्धानका क्रममा काठमाडौं प्रहरी परिसर र प्रहरी वृत्त गौशालाको टोलीले इलाका प्रहरी कार्यालय इटहरी, सुनसरीको सहयोगमा २०८३ असोज २० गते साँझ करिब ५ः३० बजे सुनसरीको इटहरी उपमहानगरपालिका–९ बाट दुई जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानगरपालिका–८ घर भएका ३० वर्षीय ओसिम अन्सारी र सोही स्थानकी ३१ वर्षीया प्रियङ्का परियार रहेका छन्।

प्रहरीका अनुसार उनीहरूलाई सार्वजनिक हित तथा नैतिकता विरुद्धको कसुरमा अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उपस्थित गराई असोज २० गतेदेखि लागू हुने गरी सात दिनको म्याद थप अनुमति लिइएको छ।

हाल उनीहरूमाथि प्रहरी वृत्त गौशालाबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रहरीले घटनासँग सम्बन्धित भिडियो, उजुरी तथा अन्य प्रमाणका आधारमा अनुसन्धान अघि बढाइरहेको जनाएको छ। पक्राउ परेका व्यक्तिमाथिको कसुर भने अनुसन्धान तथा कानुनी प्रक्रियाबाट टुंगो लाग्नेछ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।