काठमाडौं । विज्ञापन बोर्डले आर्थिक वर्ष २०७९/०८० को पत्रपत्रिका वर्गीकरण पुनरावलोकनसहितको अन्तिम नतिजासम्बन्धी प्रतिवेदन, २०८२ मा समावेश भएका पत्रपत्रिकालाई २०८३ साउन, भदौ र असोज महिनामा प्रकाशित लोककल्याणकारी विज्ञापनको बिल–बीजकसहितका आवश्यक कागजात बुझाउन आग्रह गरेको छ।
विज्ञापन बोर्ड, बबरमहलले २०८३ असोज १५ गते जारी गरेको पत्रअनुसार साउन र भदौ महिनामा लोककल्याणकारी विज्ञापन प्रकाशन गरेका पत्रपत्रिकाले बिल–बीजकसहितका कागजात २०८३ असोज २० गतेभित्र सम्बन्धित विज्ञापन बोर्ड, हुलाक निर्देशनालय वा जिल्ला हुलाक कार्यालयमा बुझाउनुपर्नेछ।
यसअघि बोर्डले असोज ६ गते पत्रमार्फत साउन र भदौ महिनाको बिल–बीजकसहितका कागजात असोज १५ गतेसम्म बुझाउन जानकारी गराएको थियो। उक्त समयसीमा संशोधन गर्दै असोज २० गतेसम्म कागजात बुझाउन भनिएको हो।
बोर्डका अनुसार सूचना तथा सञ्चार मन्त्रालयको असोज १५ गतेको पत्रमार्फत छापामाध्यमका लागि लोककल्याणकारी विज्ञापन प्रकाशनसम्बन्धी कार्यविधि, २०८२ को कार्यान्वयन मिति सम्बन्धमा मन्त्रीस्तरीय निर्णय भएको जानकारी प्राप्त भएको छ। उक्त निर्णयअनुसार संशोधित व्यवस्था २०८३ कात्तिक १ गतेदेखि लागू हुने उल्लेख छ।
त्यसकारण २०८३ साउन, भदौ र असोज महिनामा लोककल्याणकारी विज्ञापन प्रकाशन, त्यसको मासिक दररेट, भुक्तानी तथा अन्य व्यवस्था छापामाध्यमका लागि लोककल्याणकारी विज्ञापन प्रकाशनसम्बन्धी कार्यविधि, २०८२ बमोजिम नै हुने बोर्डले जनाएको छ।
त्यस्तै, छापामाध्यमका लागि लोककल्याणकारी विज्ञापन प्रकाशनसम्बन्धी पहिलो संशोधन कार्यविधि, २०८३ को अनुसूची–२ मा उल्लेखित मासिक दररेटअनुसार भुक्तानीका लागि कागजात बुझाएका पत्रपत्रिकाले कार्यविधि, २०८२ को दफा १७ मा उल्लेखित मासिक दररेटभन्दा कम रकमको बिल–बीजक जारी गरेको भए अपुग रकम बराबरको थप बिल–बीजक समेत बुझाउनुपर्नेछ।
बोर्डले बिल–बीजक बुझाउने अन्तिम मितिसम्म पत्रपत्रिका विज्ञापन बोर्डमा सूचीकरण तथा नवीकरण भएको प्रमाणपत्र समेत अनिवार्य रूपमा पेश गर्नुपर्ने जनाएको छ।
केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०८२ को दफा ७१ ले विज्ञापन नियमन गर्ने ऐन, २०७६ को दफा २६ संशोधन गरी विज्ञापन कारोबार गर्ने सञ्चार माध्यम तथा विज्ञापन एजेन्सीले तोकिएबमोजिमको विवरण दाखिला गरी विज्ञापन बोर्डमा सूचीकृत हुनुपर्ने व्यवस्था गरेको बोर्डले पत्रमार्फत स्मरण गराएको छ।
विज्ञापन बोर्डका शाखा अधिकृत डिल्ली राम सुवेदीद्वारा प्रमाणित डिजिटल हस्ताक्षरसहित जारी पत्रमा तोकिएको समयभित्र आवश्यक कागजात बुझाउन सबै सम्बन्धित पत्रपत्रिकालाई अनुरोध गरिएको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।