राजविराजमा अर्को आदेश नभएसम्म कर्फ्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

राजविराज,साउन १५।

कैलाश माझी : जिल्लाको पछिल्लो सुरक्षा अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सप्तरीले राजविराज नगरपालिकाका विभिन्न क्षेत्रमा शुक्रबार बिहान ८ बजेदेखि अर्को आदेश नभएसम्मका लागि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाद्वारा जारी आदेशअनुसार आन्दोलन तथा सम्भावित हुलदंगाका कारण शान्ति सुरक्षा भंग हुन सक्ने अवस्थाको विश्लेषणपछि जिल्ला सुरक्षा समितिको साउन १५ गतेको निर्णयका आधारमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम कर्फ्यु लागू गरिएको हो।

कर्फ्यु आदेशअनुसार पूर्वतर्फ खाँडो खोलासम्म, पश्चिमतर्फ हुलाकी राजमार्गको जमुनी–थलहीसम्म, उत्तरतर्फ रुपनी रोडको बसबिट्टी चोकसम्म तथा दक्षिणतर्फ विष्णुपुर गाउँपालिकाअन्तर्गत कोशी पश्चिम मूल नहरसम्म कर्फ्यु क्षेत्र तोकिएको छ।

प्रशासनले कर्फ्यु अवधिभर तोकिएको क्षेत्रमा आवतजावत, भेला, जुलुस, प्रदर्शन तथा शान्ति सुरक्षामा असर पर्ने कुनै पनि गतिविधि नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेशको उल्लङ्घन गर्ने वा गराउने जो–कोहीमाथि प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने चेतावनीसमेत दिएको छ। साथै नागरिकलाई अफवाहमा नलागी संयमता अपनाउन र सुरक्षा निकायसँग सहयोग गर्न अनुरोध गरिएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।