राष्ट्रिय स्वतन्त्र पार्टी सप्तकोशी नगरको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सप्तकोशी जेठ १७ 

कैलाश माझी :  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सप्तकोसी नगर समितिको प्रथम ऐतिहासिक नगर अधिवेशन आइतबार सप्तकोसी नगरपालिका–४ स्थित भिल्ला होटलमा भव्य रूपमा सम्पन्न भएको छ। संगठन सुदृढीकरण, सुशासन प्रवर्द्धन तथा जनउत्तरदायी राजनीतिक अभ्यासलाई थप प्रभावकारी बनाउने उद्देश्यले आयोजित अधिवेशनमा पार्टीका विभिन्न तहका नेता, कार्यकर्ता, शुभेच्छुक तथा सञ्चारकर्मीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

नगर अधिवेशनको खुला सत्र कार्यक्रम नगर सभापति मान प्रसाद लुइटेलको सभापतित्व तथा जिल्ला सदस्य तुलसी थारुको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा जिल्ला उपसभापति रिता कुमारी चौधरी, जिल्ला सचिव कौशल श्रेष्ठ, कोषाध्यक्ष धनञ्जय कुमार यादव, जिल्ला संगठन प्रमुख शिव यादव, जिल्ला सदस्य दुर्गा देवी प्रधान, मधेश प्रदेश कमिटी सदस्य विष्णु यादव, क्षेत्रीय सभापति शम्भुबहादुर खड्का लगायतका नेताहरूको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रमको औपचारिक उद्घाटन पार्टीको ब्यानर वाचन तथा घण्टी बजाएर गरिएको थियो। राष्ट्रगानसँगै प्रारम्भ भएको कार्यक्रममा देश र लोकतन्त्रका लागि जीवन उत्सर्ग गर्ने सम्पूर्ण शहीदहरूप्रति सम्मान व्यक्त गर्दै एक मिनेट मौनधारण गरिएको थियो।

स्वागत मन्तव्यका क्रममा वक्ताहरूले राष्ट्रिय स्वतन्त्र पार्टीले उठाउँदै आएको सुशासन, पारदर्शिता, जवाफदेहिता तथा भ्रष्टाचारविरुद्धको अभियानप्रति जनस्तरमा बढ्दो आकर्षण रहेको बताएका थिए। उनीहरूले जनअपेक्षाअनुसार परिणाममुखी राजनीति, विकास निर्माणमा पारदर्शिता तथा नागरिकका आवाजलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने आवश्यकता औंल्याए।

प्रमुख अतिथि तुलसी थारुले मुलुकमा विद्यमान राजनीतिक विकृति, बेथिति र भ्रष्टाचारविरुद्ध नागरिकको बढ्दो असन्तुष्टिलाई सम्बोधन गर्न वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता रहेको बताइन्। उनले राष्ट्रिय स्वतन्त्र पार्टीले जनताको आशा र भरोसालाई अझ बलियो बनाउँदै संगठन विस्तार तथा जनसेवामुखी अभियानलाई गाउँ–गाउँसम्म पुर्‍याउनुपर्नेमा जोड दिइन्।

त्यसैगरी अन्य वक्ताहरूले सप्तकोसी नगरभित्र सुशासन, पारदर्शी विकास, युवाको राजनीतिक सहभागिता तथा जनसरोकारका मुद्दालाई प्राथमिकतामा राखेर पार्टी अघि बढ्नुपर्ने धारणा व्यक्त गरेका थिए।

कार्यक्रममा पत्रकार खगेन्द्र कार्की, शिव आचार्य र कैलाश माझी लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। अतिथिहरूलाई खादा ओढाई सम्मान गरिएको कार्यक्रमको सञ्चालन सुस्मिता श्रेष्ठले गरेकी थिइन्।

अधिवेशनले संगठन विस्तार, सदस्यता अभियान सुदृढीकरण, जनसम्पर्क कार्यक्रमलाई तीव्रता दिने तथा नगरस्तरमा जनमुखी गतिविधि सञ्चालन गर्ने विषयमा महत्वपूर्ण छलफल गरेको आयोजकले जनाएको छ। खुला सत्र कार्यक्रमको समापन सभापति मान प्रसाद लुइटेलले गरेका थिए।

राष्ट्रिय स्वतन्त्र पार्टी सप्तकोसी नगर समितिको प्रथम नगर अधिवेशनलाई सहभागीहरूले संगठन निर्माण, वैकल्पिक राजनीतिक अभियानको विस्तार तथा जनताको विश्वासलाई अझ मजबुत बनाउने ऐतिहासिक अवसरका रूपमा लिएका छन्।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।