काठमाडौं । यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, रूपन्देहीमा परीक्षामा सहभागी नै नभएका तथा अनुत्तीर्ण भएका व्यक्तिलाई नतिजा हेरफेर गरी सवारी चालक अनुमतिपत्र जारी गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७ जनाविरुद्ध आरोपपत्र दायर गरेको छ।
अख्तियारका अनुसार यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, रूपन्देहीका तत्कालीन कार्यालय प्रमुख तेज नारायण यादवसहित यातायात कार्यालय र ट्राफिक प्रहरीका तत्कालीन कर्मचारीहरूविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको हो।
आयोगले २०८३ असोज २२ गते जारी गरेको प्रेस विज्ञप्तिअनुसार कार्यालयमा J1 र J2 वर्गको सवारी चालक अनुमतिपत्र वितरण गर्दा अनियमितता भएको भन्ने उजुरीमाथि अनुसन्धान गर्दा परीक्षाको नतिजा तथा सरकारी अभिलेखमा अनधिकृत रूपमा हेरफेर गरेको पाइएको दाबी गरेको छ।
अनुसन्धानका क्रममा तत्कालीन कार्यालय प्रमुख तेज नारायण यादवले अन्य प्रतिवादीहरूसँगको मिलेमतोमा परीक्षामा सहभागी नभएका व्यक्तिलाई लिखित तथा प्रयोगात्मक परीक्षामा उत्तीर्ण भएको देखाई सवारी चालक अनुमतिपत्र जारी गरेको आयोगको दाबी छ।
आयोगका अनुसार वैदेशिक रोजगारीका क्रममा जापानमा रहेका एक व्यक्तिलाई समेत लिखित तथा प्रयोगात्मक परीक्षामा सहभागी नभए पनि उत्तीर्ण गराई २०७८ कात्तिक १७ गते J1 वर्गको सवारी चालक अनुमतिपत्र जारी गरिएको थियो।
त्यस्तै, लिखित परीक्षामा अनुत्तीर्ण भएका व्यक्तिको परीक्षाफल संशोधन गरी उत्तीर्ण भएको देखाइएको र प्रयोगात्मक परीक्षामा सहभागी गराएको जस्तो देखिने अभिलेख तयार गरी ३ जनालाई J1 तथा ४ जनालाई J2 वर्गको सवारी चालक अनुमतिपत्र जारी गरेको अनुसन्धानबाट देखिएको आयोगले जनाएको छ।
त्यसैगरी, लिखित परीक्षामा सहभागी नै नभएका ५ जनालाई प्रयोगात्मक परीक्षामा सहभागी गराएको झुट्टा अभिलेख तयार गरी J1 वर्गको सवारी चालक अनुमतिपत्र जारी गरेको पनि आयोगको दाबी छ।
यसरी वैदेशिक रोजगारीका क्रममा जापानमा रहेका व्यक्तिसहित जम्मा १३ जनाको नाममा परीक्षासम्बन्धी अभिलेखमा हेरफेर गरी सवारी चालक अनुमतिपत्र जारी गरिएको आयोगले जनाएको छ।
आयोगका अनुसार सरकारी कार्यालयका कागजात तथा अभिलेखमा अनधिकृत एवं गैरकानुनी रूपमा सच्याउने, केरमेट गर्ने, थपघट गर्ने तथा हेरफेर गरी परीक्षाको परिणाममा फेरबदल गरेको देखिएको छ।
अख्तियारले यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, रूपन्देहीका तत्कालीन कार्यालय प्रमुख तेज नारायण यादव, तत्कालीन मेकानिकल सुपरभाइजर यादव प्रसाद अर्याल, तत्कालीन अधिकृत स्तर सातौं तुल्सिराम अधिकारी र तत्कालीन अधिकृत स्तर छैठौं राजीव अर्यालविरुद्ध आरोपपत्र दायर गरेको छ।
त्यस्तै, लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय, बुटवलका तत्कालीन प्रहरी नायब उपरीक्षक डिल्लि नारायण पाण्डे भन्ने डील्ली नारायण पाण्डेय, तत्कालीन प्रहरी निरीक्षक गणेश ज्ञवाली र तत्कालीन प्रहरी नायब निरीक्षक हुमानन्द खनालविरुद्ध पनि आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ।
आयोगले उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९, दफा ११ र दफा १३ बमोजिमको कसुर गरेको दाबी गर्दै सोही ऐनअनुसार कैद तथा जरिवाना सजायको मागदाबी गरेको छ।
अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार आरोपपत्र २०८३ असोज २२ गते विशेष अदालत, काठमाडौंमा दायर गरिएको हो।
आरोपपत्र दायर भएका व्यक्तिहरूमाथिको कसुर अदालतबाट अन्तिम रूपमा पुष्टि हुन बाँकी रहेको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।