धनुषा, भदौ ७ गते ।
आफ्नै श्रीमतीको हत्या गरी फरार रहेका एक पुरुषलाई धनुषा प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–४ बस्ने करिब ३५ वर्षीय संजय कुमार यादवले २०८० साल असार १५ गते आफ्नै घरको कोठामा ढुंगा प्रहार गरी श्रीमती रुवी शर्मा ठाकुरको हत्या गरेका थिए। घटनापछि यादव फरार रहेका थिए।
उक्त घटनासम्बन्धी मुद्दामा उच्च अदालत जनकपुर, धनुषाको २०८३ जेठ २२ गतेको फैसलाले यादवलाई ३ वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना तोकेको थियो। फैसला भए पनि उनी हालसम्म फरार रहेका थिए।
फरार प्रतिवादीको खोजी गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले २०८३ भदौ ७ गते दिउँसो करिब १२ः३० बजे लक्ष्मीनियाँ गाउँपालिका–४ स्थित सखी बजारमा हिँडिरहेको अवस्थामा यादवलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेका यादवलाई जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याई फैसला कार्यान्वयनका लागि सम्मानित अदालतमा पेश गर्ने प्रक्रिया भइरहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले फरार प्रतिवादी पक्राउ गरी फैसला कार्यान्वयनको प्रक्रियामा अघि बढाइएको जानकारी दिएका छन्।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।