सिरहा । सिरहाको कर्जन्हा नगरपालिका–२ बन्दीपुरस्थित पूर्व–पश्चिम राजमार्गबाट प्रहरीले ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक युवकलाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाले २०८३ असोज १७ गते जारी गरेको प्रेस विज्ञप्तिअनुसार, असोज १६ गते राति करिब ११ः४५ बजे लागूऔषध ब्राउन सुगरको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मिर्चैया र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजारबाट संयुक्त प्रहरी टोली परिचालन गरिएको थियो।
प्रहरी टोलीले पूर्वबाट पश्चिम पोखरातर्फ जाँदै गरेको गण्डकी प्रदेश ०१–००१ ख ०२२१ नम्बरको यात्रुवाहक बस रोकी चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा बसमा सवार सिरहाको धनगढीमाई नगरपालिका–७ बस्ने अन्दाजी २० वर्षीय अजय कुमार यादवको जिन्स पाइन्टको बायाँ खल्तीमा कालो प्लास्टिकले बेरी लुकाइराखेको अवस्थामा ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार प्लास्टिकसहित उक्त पदार्थको तौल १० ग्राम ४१० मिलिग्राम रहेको थियो भने प्लास्टिक हटाउँदा ५ ग्राम रहेको छ। साथै यादवको साथबाट सामसुङ कम्पनीको एक थान स्क्रिन टच मोबाइल समेत बरामद गरिएको प्रहरीले जनाएको छ।
बरामद पदार्थ र मोबाइल रीतपूर्वक बरामद गरी यादवलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय मिर्चैया, सिरहामा ल्याइएको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।