सिरहा । सिरहाको गोलबजार नगरपालिका–२ गुरुधाम चोकस्थित पूर्व–पश्चिम लोकमार्गमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।
मृत्यु हुनेमा गोलबजार नगरपालिका–३ निवासी ७८ वर्षीय कमलबहादुर श्रेष्ठ रहेका छन्।
प्राप्त विवरणअनुसार २०८३ असोज २२ गते बिहान करिब ६ बजे कसहाबाट मिर्चैयातर्फ जाँदै गरेको प्रदेश १–०५–००१ प १६३६ नम्बरको मोटरसाइकलले सडक पार गर्दै गरेका श्रेष्ठलाई ठक्कर दिएको थियो।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका श्रेष्ठलाई तत्काल उपचारका लागि लाइफ लङ्ग अस्पताल लगिएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि उनलाई विराटनगर रेफर गरिएको थियो।
विराटनगरतर्फ लैजाने क्रममा सुनसरीको हरिनगरस्थित सरकारी अस्पतालमा चेकजाँच तथा ईसीजी गरिएको थियो। अस्पतालका चिकित्सकले श्रेष्ठलाई मृत घोषणा गरेको जनाइएको छ।
मृतक श्रेष्ठको शव थप आवश्यक प्रक्रिया तथा परीक्षणका लागि प्रादेशिक अस्पताल लहान, सिरहातर्फ ल्याउने कार्य भइरहेको छ।
घटनापछि प्रहरीले मोटरसाइकल र चालक विमल कुमार चौधरीलाई नियन्त्रणमा लिएको छ। घटनाबारे इलाका प्रहरी कार्यालय गोलबजारबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।