सिरहामा स्वेच्छिक रूपमा राहत सामग्री संकलन नगर्न प्रशासनको आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सिरहा, भदौ १५ गते ।

कैलाश माझी : रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित तथा पीडित नागरिकका लागि सिरहा जिल्लाका विभिन्न स्थानबाट राहत सामग्री संकलन भइरहेको भन्दै जिल्ला प्रशासन कार्यालय सिरहाले हाललाई स्वेच्छिक रूपमा राहत सामग्री संकलन नगर्न आग्रह गरेको छ।

जिल्ला प्रशासन कार्यालय सिरहाले सोमबार सूचना जारी गर्दै कुनै पनि व्यक्ति, संघ–संस्था वा समूहले आफूखुसी राहत सामग्री संकलन नगर्न तथा नगराउन अनुरोध गरेको हो।

प्रशासनका अनुसार बाढी प्रभावित नागरिकका लागि आवश्यक राहत सामग्री संकलन भइरहेको जानकारी प्राप्त भएपछि यस्तो सूचना जारी गरिएको हो।

तर, बाढीपीडितका लागि राहत सामग्री उपलब्ध गराउन इच्छुक व्यक्ति वा संघ–संस्थालाई भने प्रशासनले रोक लगाएको छैन। इच्छुक व्यक्ति तथा संस्थाले आफूले उपलब्ध गराउन सक्ने राहत सामग्रीको विवरण नजिकको इलाका प्रशासन कार्यालय वा जिल्ला प्रशासन कार्यालय सिरहामा जानकारी गराउन सक्ने प्रशासनले जनाएको छ।

प्रशासनले राहत सामग्रीको आवश्यकता र व्यवस्थापनलाई व्यवस्थित बनाउन सम्बन्धित निकायसँग समन्वय गरेर मात्र सहयोग उपलब्ध गराउन आग्रह गरेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालद्वारा २०८३ भदौ १५ गते जारी सूचनामा राहत संकलनका नाममा हुने अव्यवस्थित गतिविधि रोक्दै आवश्यक सामग्रीलाई प्रभावकारी रूपमा प्रभावित नागरिकसम्म पुर्‍याउने उद्देश्य रहेको जनाइएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।