बारा । बाराको जितपुर सिमरा उपमहानगरपालिका–२ स्थित एक होटलमा चक्कु प्रहारबाट एक जनाको मृत्यु भएको छ। घटनामा संलग्न भएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।
जिल्ला प्रहरी कार्यालय बाराले २०८३ असोज ४ गते जारी गरेको प्रेस विज्ञप्तिअनुसार, असोज ३ गते साँझ करिब ५ः३० बजे जितपुर सिमरा उपमहानगरपालिका–२ स्थित सम्झना स्टाफ होटलमा सोही स्थानका करिब ३५ वर्षीय शेरबहादुर खड्कालाई जितपुर सिमरा–१६ का करिब २२ वर्षीय आयुष राईले चक्कु प्रहार गरेका थिए।
चक्कु प्रहारबाट घाँटीमा चोट लागेका खड्कालाई उपचारका लागि वीरगञ्जस्थित बयोधा अस्पताल लगिएकोमा उपचारकै क्रममा साँझ ६ः४० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
घटनापछि फरार रहेका राईलाई जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले सोही दिन राति करिब १० बजे जितपुर सिमरा–१६ महेन्द्रनगरस्थित धानबारीबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटनासँग सम्बन्धित रहेको आरोपमा विन्दु तामाङ (३४), रामबहादुर तिमिल्सिना (३०), रत्न पाख्रिन तामाङ (२३), शान्ति राई (४३) र सिता थापा मगर (४०) लाई समेत पक्राउ गरिएको छ।
पक्राउ परेका सबैविरुद्ध ज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी बारा जिल्ला अदालत कलैयाबाट पाँच दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ।
घटनाबारे इलाका प्रहरी कार्यालय सिमरा बाराले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले जानकारी दिएका छन्।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।