विराटनगर, असोज १२ गते । सङ्खुवासभा र धनकुटाबाट प्रहरीले ५ बुङ तास र २ लाख ४ हजार ३ सय ८० रुपैयाँ नगदसहित तास खेलिरहेको अवस्थामा १३ जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार असोज ११ गते जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाबाट खटिएको टोलीले खाँदबारी नगरपालिका–८ जिरो प्वाइन्टस्थित मानबहादुर तिवारीको घरमा तास खेलिरहेको अवस्थामा पाँच जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा घरधनी मानबहादुर तिवारी, सोही स्थानका टिकाराम तिवारी र देवेन्द्र श्रेष्ठ, सिलिङचोङ गाउँपालिका–५ का दिनेश कार्की तथा बसन्त राई रहेका छन्। उनीहरूको साथबाट १ बुङ तास र ८९ हजार ८ सय ३० रुपैयाँ नगद बरामद गरिएको प्रहरीले जनाएको छ।
यसैगरी, जिल्ला प्रहरी कार्यालय धनकुटाको टोलीले धनकुटा नगरपालिका–१ हिलेस्थित सिताराम श्रेष्ठको घरको कोठामा तास खेलिरहेको अवस्थामा आठ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धनकुटा नगरपालिका–१ का मोहनबहादुर विक, रमेश राई, सविन तामाङ, तेजबहादुर मगर, रमेश भण्डारी, दिपेन्द्र मगर र रमेश कार्की तथा महालक्ष्मी नगरपालिका–८ का रामकाजी विक रहेका छन्।
उनीहरूको साथबाट ४ बुङ तास, ११९ वटा गोटी र १ लाख १४ हजार ५ सय ५० रुपैयाँ नगद बरामद गरिएको प्रहरीले जनाएको छ।
सङ्खुवासभा र धनकुटामा गरी बरामद नगद रकम २ लाख ४ हजार ३ सय ८० रुपैयाँ रहेको छ। पक्राउ परेका उनीहरूमाथि आवश्यक कानुनी कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।