सप्तरी, असोज १५गते ।
कैलाश माझी : सप्तरीको सप्तकोशी नगरपालिकाबाट प्रहरीले ९ किलो २७५ ग्राम गाँजा जस्तो देखिने पदार्थ र मोटरसाइकलसहित तीन जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले २०८३ असोज १५ गते जारी गरेको प्रेस विज्ञप्तिअनुसार असोज १४ गते बिहान करिब ९ बजे सप्तकोशी नगरपालिका–२ स्थित पेट्रोल पम्प नजिक कञ्चनपुर–फत्तेपुर सडकखण्डमा अवैध लागूऔषध ओसारपसार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा संयुक्त प्रहरी टोली परिचालन गरिएको थियो।
प्रहरी चौकी फत्तेपुर, अस्थायी प्रहरी पोष्ट आम्बासी उदयपुर र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस फत्तेपुरबाट खटिएको संयुक्त चेकिङ टोलीले फत्तेपुरबाट कञ्चनपुरतर्फ जाँदै गरेको प्र.२–०२–००८ प ७०४८ नम्बरको मोटरसाइकललाई शंका लागी चेकजाँच गर्न खोजेको थियो।
प्रहरीका अनुसार चेकजाँच गर्न खोज्दा मोटरसाइकल छाडेर भाग्न खोजेका तीन जनालाई प्रहरी टोलीले पिछा गरी नियन्त्रणमा लिएको हो।
उनीहरूसँग रहेको कालो झोला चेकजाँच गर्दा ९ किलो २७५ ग्राम गाँजा जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा मोटरसाइकल चालक सप्तरीको कञ्चनरुप नगरपालिका–८ का अन्दाजी २८ वर्षीय शिवनारायण यादव, मोटरसाइकलको पछाडि सवार महादेवा गाउँपालिका–३ का २३ वर्षीय ललित कुमार यादव र सप्तकोशी नगरपालिका–१० का अन्दाजी ४८ वर्षीय उपेन्द्र यादव रहेका छन्।
प्रहरीले उनीहरूलाई बरामद पदार्थ र मोटरसाइकलसहित कानुनबमोजिम नियन्त्रणमा लिई आवश्यक मुचुल्का कार्य सम्पन्न गरेको जनाएको छ।
उनीहरूलाई इलाका प्रहरी कार्यालय कञ्चनपुर, सप्तरीमा राखिएको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिई घटनाबारे थप अनुसन्धान भइरहेको छ।
प्रहरी नायब उपरीक्षक हेमराज घिमिरे, प्रवक्ता तथा सूचना अधिकारी, जिल्ला प्रहरी कार्यालय सप्तरीले उक्त जानकारी दिएका हुन्।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।