राजविराज, साउन १६।
कैलाश माझी : सप्तरी जिल्लामा शान्ति, सुरक्षा, अमनचयन तथा धार्मिक सहिष्णुता कायम राख्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय सप्तरीले सर्वसाधारणका नाममा महत्वपूर्ण सूचना जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाद्वारा जारी सूचनामा सामाजिक सद्भाव खलबल्याउने, भ्रामक तथा उत्तेजक सामग्री सामाजिक सञ्जालमार्फत प्रसारण नगर्न सबैलाई आग्रह गरिएको छ।
प्रशासनका अनुसार फेसबुक, टिकटक, इन्स्टाग्राम, व्हाट्सएप लगायतका सामाजिक सञ्जालमा द्वेष फैलाउने, उत्तेजना बढाउने वा शान्ति–सुरक्षामा असर पर्ने खालका समाचार, अफवाह, तस्बिर तथा भिडियो पोस्ट, रि–पोस्ट, लाइक, कमेन्ट वा सेयर गर्ने गतिविधिमाथि सुरक्षा निकायले निगरानी गरिरहेको छ। यस्ता सामग्री पोस्ट वा सेयर गरिसकेकाहरूलाई तत्काल हटाउन प्रशासनले अनुरोध गरेको छ।
यसैगरी, कुनै पनि आन्दोलन वा प्रदर्शनका क्रममा लाठी, भाला, तरबार तथा अन्य घरेलु हातहतियार प्रदर्शन नगर्न तथा नगराउन प्रशासनले स्पष्ट निर्देशन दिएको छ। आन्दोलनमा बालबालिकाको प्रयोग कानुनद्वारा निषेध गरिएको उल्लेख गर्दै त्यस्तो कार्य भए सम्बन्धित आयोजकमाथि प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनीसमेत दिइएको छ।
जिल्ला प्रशासन कार्यालयले समाजमा उत्तेजना फैलाउने, धार्मिक भावनामा आघात पुर्याउने वा कानुनी व्यवस्था हातमा लिन खोज्ने जो–कोहीमाथि मुलुकी अपराध संहिता, २०७४ र विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम कानुनी कारबाही गरिने जनाएको छ।
प्रशासनले जिल्लावासी, नागरिक समाज, धार्मिक अगुवा, बुद्धिजीवी, सञ्चारकर्मी तथा सबै सरोकारवालालाई संयमता अपनाई सामाजिक सद्भाव, शान्ति र आपसी सहिष्णुता कायम राख्न सहयोग गर्न आग्रह गरेको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।