राजविराज, भदौ २९ गते ।
कैलाश माझी : सप्तरीमा प्रहरीले ९ किलो ३१३ ग्राम लागूऔषध गाँजा जस्तो देखिने पदार्थसहित एक युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा राजगढ गाउँपालिका–३, नर्घो टोल बस्ने २७ वर्षीय संजीव कुमार शर्मा रहेका छन्।
प्रहरीका अनुसार शर्माले आफ्नै घरमा अवैध लागूऔषध गाँजाको कारोबार गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. ६ गणको बीओपी बनैनिया र प्रहरी चौकी झुट्कीबाट खटिएको संयुक्त टोलीले २०८३ भदौ २७ गते उनको घरमा कानुनी प्रक्रिया पूरा गरी खानतलासी गरेको थियो।
खानतलासीका क्रममा शर्माको साथबाट ०.३२ ग्राम गाँजा जस्तो देखिने पदार्थ फेला परेको थियो। त्यसपछि घर तथा घरवरिपरि समेत खानतलासी गर्दा घरदेखि दक्षिण करिब १५ मिटर दूरीमा रहेको डिहिबार थानको सार्वजनिक भवनभित्र सेतो बोरा फेला परेको प्रहरीले जनाएको छ।
उक्त बोरा खोलेर हेर्दा कालो प्लास्टिकमा राखिएका ९ वटा पोकामा गाँजा जस्तो देखिने पदार्थ फेला परेको थियो। तराजुमा तौल गर्दा उक्त पदार्थको कुल तौल ९ किलो ३१३ ग्राम रहेको प्रहरीले जनाएको छ।
बरामद पदार्थ स्थानीय व्यक्ति तथा जनप्रतिनिधिको रोहवरमा बरामद गरी शर्मालाई पक्राउ गरिएको थियो।
घटनासम्बन्धी मुद्दा इलाका प्रहरी कार्यालय कल्याणपुर, सप्तरीमा दर्ता भई सप्तरी जिल्ला अदालतबाट १० दिनको म्याद थप गरेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।