काठमाडौं,साउन १४।
कैलाश माझी : प्रेस काउन्सिल नेपालले सुनसरीसहित देशका विभिन्न जिल्लामा हालै भएका संवेदनशील घटनाका सन्दर्भमा धर्म, सम्प्रदाय तथा सामाजिक सद्भावमा प्रतिकूल असर पार्ने, हिंसा र त्रासलाई प्रश्रय दिने तथा उत्तेजना फैलाउने सामग्री प्रकाशन तथा प्रसारण गर्ने सञ्चारमाध्यम र सामाजिक सञ्जालमाथि निगरानी तथा कारबाहीलाई थप कडा बनाएको जनाएको छ।
काउन्सिलले सार्वजनिक गरेको साउन १४ गतेसम्मको अनुगमन प्रगतिअनुसार, सुनसरी घटनापछि विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रकाशित तथा प्रसारित सामग्रीको निरन्तर अनुगमन भइरहेको छ। अनुगमनका क्रममा पत्रकारिता आचारसंहिताविपरीत धार्मिक तथा साम्प्रदायिक सद्भावमा खलल पुग्ने, हिंसा र त्रास फैलाउन सक्ने प्रकृतिका सामग्री भेटिएपछि सम्बन्धित सञ्चारमाध्यमलाई तत्काल सामग्री हटाउन निर्देशन दिइएको जनाएको छ।
काउन्सिलका अनुसार ११ वटा सञ्चारमाध्यमबाट प्रकाशित तथा प्रसारित १४ वटा सामग्री तत्काल हटाउन टेलिफोनमार्फत निर्देशन दिइएको थियो। तीमध्ये १० वटा सञ्चारमाध्यमले काउन्सिलको निर्देशन पालना गर्दै सामग्री हटाइसकेको जनाएको छ। तर HTPKHABAR नामक सञ्चारमाध्यमले भने निर्देशनको पालना नगरेको प्रेस काउन्सिलले उल्लेख गरेको छ।
त्यसैगरी, दर्ता नभएका दुई सामाजिक सञ्जालमार्फत प्रकाशित सातवटा सामग्री सम्बन्धमा अनुसन्धान गरी आवश्यक कानुनी कारबाही अघि बढाउन नेपाल प्रहरीको साइबर ब्युरोमा पत्राचार गरिएको काउन्सिलले जनाएको छ।
प्रेस काउन्सिलले दोस्रोपटक गरेको अनुगमनमा साउन १३ गते निर्देशन दिइएका बाँकी सञ्चारमाध्यम तथा सामाजिक सञ्जालको अवस्थासमेत सार्वजनिक गरेको छ। काउन्सिलका अनुसार निर्देशनपछि पाँच वटा सञ्चारमाध्यम र एक दर्ता नभएको सामाजिक सञ्जालले आचारसंहिताविपरीत सामग्री हटाएर निर्देशनको पालना गरेका छन्।
यस्तै, Onlinepatrika ले सामग्री हटाएको जानकारी सन्देशमार्फत दिए पनि अनुगमनका क्रममा उक्त सामग्री अझै हटाइएको नपाइएकाले पुनः सचेत गराइएको काउन्सिलले जनाएको छ। त्यसैगरी Nepaltrantra नामक सञ्चारमाध्यमले मौखिक निर्देशनपछि पनि सामग्री हटाउन अस्वीकार गरेकाले थप कारबाही प्रक्रिया अघि बढाइएको जनाइएको छ।
प्रेस काउन्सिल नेपालले वर्तमान संवेदनशील परिस्थितिमा सञ्चारमाध्यमले पत्रकारिता आचारसंहिता, प्रचलित कानुन तथा व्यावसायिक जिम्मेवारीको पूर्ण पालना गर्नुपर्नेमा जोड दिएको छ। काउन्सिलले अपुष्ट सूचना, अफवाह, पुराना तस्बिर वा भिडियोलाई नयाँ घटनासँग जोडेर प्रसारण गर्ने, धार्मिक तथा साम्प्रदायिक सद्भावमा असर पुर्याउने, हिंसा वा द्वेषलाई उक्साउने र समाजमा त्रास फैलाउने सामग्री प्रकाशन तथा प्रसारण नगर्न सबै सञ्चारमाध्यम, पत्रकार तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई पुनः आग्रह गरेको छ।
काउन्सिलले तथ्यमा आधारित, सन्तुलित र जिम्मेवार पत्रकारितामार्फत मात्र सामाजिक सद्भाव, शान्ति र सार्वजनिक विश्वास कायम रहन सक्ने उल्लेख गर्दै आचारसंहिताविपरीत गतिविधि गर्ने सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमाथि आवश्यकताअनुसार कानुनी प्रक्रिया अघि बढाइने चेतावनीसमेत दिएको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।