सुनसरी । सुनसरी प्रहरीले भारतबाट अवैध रूपमा भन्सार छली गरी ल्याइएको ठूलो परिमाणको युरिया मलसहित एउटा मोटरसाइकल बरामद गरेको छ।
प्रहरीका अनुसार २०८३ साल भदौ २१ गते बिहान ९ः१५ बजे इलाका प्रहरी कार्यालय देवानगञ्ज र अस्थायी प्रहरी चौकी मध्यहर्षाही सुनसरीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले देवानगञ्ज गाउँपालिका–१, मध्यहर्षाहीस्थित क्षेत्रमा चेकजाँच तथा निगरानी गर्ने क्रममा उक्त सामान बरामद गरेको हो।
भारतबाट अवैध रूपमा भन्सार छली गरी ल्याएर लुकाइछिपाई राखिएको अवस्थामा १२८ बोरा युरिया मल फेला परेको प्रहरीले जनाएको छ। बरामद गरिएको युरिया मलको अन्दाजी मूल्य रु. १ लाख ६६ हजार ३०० रहेको छ।
यस्तै, प्रहरीले को.५ प. ९१२० नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ। भन्सार छली गरी ल्याइएको मल ओसारपसारमा प्रयोग भएको आशंकामा मोटरसाइकललाई समेत नियन्त्रणमा लिइएको हो।
बरामद गरिएको युरिया मल र मोटरसाइकललाई आवश्यक कानुनी कारबाहीका लागि सुनसरी भन्सार कार्यालय, सेतुबन्ध पठाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
भारतसँग सीमा जोडिएको सुनसरीका विभिन्न नाकाबाट हुने अवैध आयात तथा भन्सार छली नियन्त्रणका लागि प्रहरीले निगरानी र चेकजाँचलाई तीव्रता दिएको जनाएको छ।
घटनाका सम्बन्धमा आवश्यक प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिएका छन्।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।