सुनसरीमा २ हजार ५६६ किलो गाँजासहित ट्रक नियन्त्रणमा, चालक र सहचालक पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

सुनसरी । सुनसरी प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित ट्रक नियन्त्रणमा लिएको छ। प्रहरीले गाँजा ओसारपसारमा संलग्न रहेको आरोपमा ट्रकका चालक र सहचालकलाई समेत पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार २०८३ असोज १८ गते राति करिब ११ः५० बजे इनरुवा नगरपालिका–३ स्थित सखुवागाछी चोकमा प्रहरी टोलीले ना.७ ख १८२५ नम्बरको ट्रकलाई शंकास्पद रूपमा रोकेर चेकजाँच गरेको थियो।

अस्थायी प्रहरी पोष्ट सखुवागाछी र ट्राफिक प्रहरी कार्यालय इनरुवाबाट संयुक्त रूपमा खटिएको प्रहरी चेकिङ टोलीले पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको उक्त ट्रकलाई रोकेर जाँच गर्दा बन्दागोपीले छोपिएको अवस्थामा ट्रकभित्र गाँजाजस्तो देखिने पदार्थका ८३ वटा बोरा फेला पारेको प्रहरीले जनाएको छ।

प्रहरीले तत्काल उक्त पदार्थ नियन्त्रणमा लिएर तौल गर्दा २ हजार ५ सय ६६ किलो ५ सय ६० ग्राम रहेको पुष्टि भएको जनाएको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा धनकुटाको सहिदभूमि गाउँपालिका–२ बस्ने ३३ वर्षीय राजु राई ट्रक चालक र सोही स्थानका १८ वर्षीय सन्दिप राई सहचालक रहेका छन्।

गाँजाजस्तो पदार्थसहित ना.७ ख १८२५ नम्बरको ट्रक र दुवै जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।