इनरुवा, असोज ८ गते ।
कैलाश माझी : सुनसरीमा भन्सार छली ल्याइएको ३३० किलो पाउडर दूधसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्काका अनुसार २०८३ असोज ८ गते दिउँसो १२ बजे इनरुवा नगरपालिका–३ डाँडाटोलमा प्रहरीले चेकजाँच गर्ने क्रममा पाउडर दूध बरामद गरेको हो।
प्रहरी टोलीले प्रदेश १–०१–००२ च १८६४ नम्बरको पिकअप गाडीलाई शंका लागेर जाँच गर्ने क्रममा भन्सार छली ल्याइएको पाउडर दूध फेला पारेको जनाएको छ।
प्रहरीका अनुसार पिकअप चालक सुनसरीको देवानगञ्ज गाउँपालिका–२ का ४३ वर्षीय ज्ञानदेव मेहता र इटहरी उपमहानगरपालिका–५ का ४० वर्षीय अर्जुन खड्कालाई नियन्त्रणमा लिइएको हो।
बरामद पाउडर दूधको तौल ३३० किलो रहेको र यसको अनुमानित मूल्य २ लाख ६४ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ। प्रहरीले पाउडर दूध र प्रयोग गरिएको पिकअप गाडीसमेत नियन्त्रणमा लिएको छ।
नियन्त्रणमा लिइएका दुवै जनालाई आवश्यक कारबाहीका लागि सुनसरी भन्सार कार्यालय, सेतुबन्ध पठाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
प्रहरीले बरामद सामग्रीको भन्सारसम्बन्धी प्रक्रिया तथा आवश्यक कानुनी कारबाही अघि बढाउने जनाएको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।