सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–१ स्थित मध्यहर्षाहीको बीपी चोकमा दुई यादव समूहबीच झडप हुँदा एक जना घाइते भएका छन्। घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय इनरुवा, सुनसरीले २०८३ असोज ३ गते जारी गरेको प्रेस विज्ञप्तिअनुसार, शुक्रबार साँझ करिब ५ः२५ बजे बीपी चोकमा दुई यादव समूहबीच झडप भएको हो।
झडपका क्रममा देवानगञ्ज गाउँपालिका–१ का २४ वर्षीय निरज कुमार यादवको पुठ्ठामा चोट लागेको प्रहरीले जनाएको छ। घाइते यादवको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको र उनको स्वास्थ्य अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
घटनामा संलग्न भएको आरोपमा देवानगञ्ज गाउँपालिका–२ का १८ वर्षीय विष्णु कुमार यादव र सोही स्थानका २६ वर्षीय ‘लाली’ भन्ने जयकृष्ण यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार नियन्त्रणमा लिइएका दुवै जनामाथि थप अनुसन्धान भइरहेको छ भने घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी जारी छ।
यसैबीच, उक्त घटनालाई लिएर सामाजिक सञ्जाल तथा केही सञ्चार माध्यममा गोली प्रहारबाट मानिसको मृत्यु तथा घाइते भएको भन्ने भ्रमपूर्ण समाचार प्रसारित भएको भन्दै प्रहरीले त्यसप्रति ध्यानाकर्षण गराएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीले घटनाको यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्न सञ्चारमाध्यमलाई आग्रह गरेको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।