तारकेश्वरमा रक्तपातपूर्ण घटना, श्रीमती हत्या आरोपमा चार जना पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कैलाश माझी  काठमाडौं
काठमाडौंको तारकेश्वर नगरपालिका–६ पैयुँटारमा घरायसी विवादका क्रममा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा एक व्यक्तिसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार २०८३ जेठ २२ गते राति करिब ९:३० बजे तारकेश्वर–६ पैयुँटार निवासी ३८ वर्षीय ‘नेपाली ब्रो’ भनेर चिनिने कुमार थापा मगरले आफ्नै श्रीमतीमाथि धारिलो हतियार (चक्कु) प्रहार गरेका थिए।

गम्भीर घाइते भएकी महिलालाई तत्काल तारकेश्वर सिटी अस्पताल शेषमती हुँदै थप उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापछि प्रहरीले सोही राति करिब ११ बजे मुख्य आरोपी कुमार थापा मगरलाई पक्राउ गरेको थियो। घटनामा संलग्न रहेको आरोपमा अन्य तीन जनालाई पनि जेठ २३ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरूमा नुवाकोट तारकेश्वर गाउँपालिका–४ घर भई हाल काठमाडौं तारकेश्वर–६ पैयुँटार बस्ने ३८ वर्षीय कुमार थापा मगर, सोही ठाउँका ३६ वर्षीय विक्रम थापा मगर, काठमाडौं महानगरपालिका–१६ बालाजु निवासी ४० वर्षीय पुजन थापा क्षेत्री तथा जुम्ला हिमा गाउँपालिका–१ घर भई हाल गोकर्णेश्वर नगरपालिका–८ बस्ने २५ वर्षीया प्रतिक्षा आचार्य रहेका छन्।

प्रहरीले चारै जनाविरुद्ध कर्तव्य ज्यान सम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान अघि बढाएको जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार घटनाको विस्तृत अनुसन्धान जारी रहेको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।