उमेर पुगे पनि नागरिकता नपाएका जेष्ठ नागरिक, अशक्त र अपाङ्गलाई सेवा लिन ल्याउन कञ्चनपुर इलाका प्रशासनको आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

कञ्चनपुर, सप्तरी ।

कैलाश माझी : इलाका प्रशासन कार्यालय कञ्चनपुर, सप्तरीले उमेर पुगे पनि नागरिकता प्राप्त गर्न नसकेका जेष्ठ नागरिक, अशक्त, अपाङ्ग, गर्भवती तथा सुत्केरी सेवाग्राहीलाई आवश्यक प्रक्रिया र कागजात पूरा गरी कार्यालयमा सेवा लिन ल्याउन सम्बन्धित संरक्षक तथा अभिभावकलाई आग्रह गरेको छ।

कार्यालयले अत्यन्त जरुरी सूचना जारी गर्दै कार्यालयबाट प्रवाह हुने सेवाहरूलाई सरल, सहज, छिटो, छरितो, प्रभावकारी तथा सेवाग्राहीमैत्री बनाउने उद्देश्यले नागरिकता प्राप्तिसम्बन्धी आवश्यक प्रक्रिया र कागजातबारे पहिले नै जानकारी लिएर मात्र सेवाग्राहीलाई कार्यालयमा ल्याउन आग्रह गरेको हो।

सूचनामा सेवाग्राहीका संरक्षक वा अभिभावकले कार्यालयमा सम्पर्क गरी नागरिकता प्राप्तिका लागि आवश्यक कागजात, प्रमाण र प्रक्रिया सम्बन्धमा जानकारी लिनुपर्ने उल्लेख गरिएको छ।

त्यसपछि कार्यालयले तोकेको प्रक्रिया पूरा गरी आवश्यक प्रमाण तथा कागजातसहित उमेर पुगेका तर नागरिकता प्राप्त गर्न नसकेका जेष्ठ नागरिक, अशक्त, अपाङ्ग, गर्भवती तथा सुत्केरी सेवाग्राहीलाई कार्यालयमा सेवा लिन ल्याउने व्यवस्था गर्न कार्यालयले सम्बन्धित सबै सरोकारवालालाई अनुरोध गरेको छ।

कार्यालयका अनुसार यस व्यवस्थाले आवश्यक कागजात नपुगेका कारण सेवाग्राहीले पटक–पटक कार्यालय धाउनुपर्ने अवस्था कम गर्नुका साथै नागरिकता सेवामा सहजता र प्रभावकारिता ल्याउने अपेक्षा गरिएको छ।

थप जानकारीका लागि इलाका प्रशासन कार्यालय कञ्चनपुरले नायब सुब्बा लक्ष्मण निरौला र नायब सुब्बा धर्मेन्द्र खङ्गालाई सम्पर्क गर्न सकिने जनाएको छ।

कार्यालयले सार्वजनिक गरेको सूचनामा लक्ष्मण निरौलाको सम्पर्क नम्बर ९८४२१२४९४९ र धर्मेन्द्र खङ्गाको सम्पर्क नम्बर ९८४२८३३१३८ उल्लेख गरिएको छ।

इलाका प्रशासन कार्यालय कञ्चनपुरका शाखा अधिकृत बाबुनन्दन मेहताको हस्ताक्षर रहेको सूचनामार्फत उक्त जानकारी सार्वजनिक गरिएको हो।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।