उप–प्रमुख सुनिता डंगोलको कार्यालयमा मेयर बालेन्द्र साहको राजीनामा पत्र दर्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले आफ्नो पदबाट राजीनामा दिएको उल्लेख गरिएको एक पत्र उप–प्रमुख सुनिता डंगोलको कार्यालयमा दर्ता भएको छ।

मिति २०८२ साल माघ ४ गते दर्ता भएको उक्त पत्रमा सोही मितिदेखि लागू हुने गरी मेयर पदबाट स्वेच्छिक राजीनामा पेश गरिएको उल्लेख गरिएको छ।

उप–प्रमुख सुनिता डंगोललाई सम्बोधन गरिएको राजीनामा पत्रमा नेपालको संविधान २०७२, स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा काठमाडौं महानगरपालिकाको प्रचलित कानुनी व्यवस्थाअनुसार मेयर पदबाट अलग हुने निर्णय गरिएको जनाइएको छ।

पत्रमा मेयर बालेन्द्र साहले आफ्नो कार्यकालमा काठमाडौं महानगरपालिका र नगरवासीको हितलाई केन्द्रमा राखी इमान्दारीपूर्वक काम गर्ने प्रयास गरेको उल्लेख गरेका छन्।

साथै, राजीनामा पत्रमार्फत उनले आगामी दिनमा काठमाडौं महानगरपालिकाको नेतृत्व, सेवा प्रवाह र विकास प्रक्रिया अझ प्रभावकारी, पारदर्शी र परिणाममुखी बनोस् भन्ने कामना गर्दै उप–प्रमुख सुनिता डंगोल, नगर कार्यपालिका तथा सम्पूर्ण टिमलाई सफलताको शुभेच्छा व्यक्त गरेका छन्।

उक्त पत्र काठमाडौं महानगरपालिका नगर कार्यपालिकाको कार्यालयअन्तर्गत उप–प्रमुखको कार्यालयमा दर्ता नम्बर सहित अभिलेख गरिएको छ। यद्यपि, मेयर बालेन्द्र साहको राजीनामाबारे महानगरपालिकाले औपचारिक विज्ञप्ति जारी गरिसकेको छैन।
मेयरको राजीनामा सम्बन्धी पत्र दर्ता भएसँगै काठमाडौं महानगरपालिकाको नेतृत्व र आगामी राजनीतिक–प्रशासनिक अवस्थाबारे विभिन्न चर्चा र चासो सुरु भएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।