मोरङ । विराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाँटबाट प्रहरीले ६.२१ ग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङले २०८३ असोज १६ गते जारी गरेको प्रेस विज्ञप्तिअनुसार, असोज १५ गते साँझ करिब ७ः५० बजे इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका एक व्यक्तिलाई शंकाका आधारमा चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा मोरङको सुन्दरहरैंचा नगरपालिका–८ बस्ने ३१ वर्षीय सरोज आचार्यको साथबाट ६.२१ ग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीले आचार्यलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रानी, मोरङमा ल्याएको जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिएका छन्।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।